यसकारण अल्झियो प्रधानन्यायाधीश नियुक्ति, जोशीको प्रधानन्यायाधीश पद नेकपाको हातमा !

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ अनुमोदन गर्न नसक्दा थप अन्योल सिर्जना भएको छ । प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ गत बिहीबार भए पनि दुई दिन बितिसक्दा पनि सुनुवाइ अनुमोदन हुन सकेको छैन ।

बिहीबार प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई सुनुवाइ समितिमा सांसदहरुले प्रश्न सोधेका थिए । सांसदहरुको प्रश्नमा जोशीको जवाफ आइसके पनि पर्याप्त छलफल नभएको भन्दै शुक्रबारका लागि बैठक सरेको थियो ।

समितिको बैठक आइतबार बिहान आठ बजेका लागि डाकिए पनि आज सोमबार दुई बजेसम्मका लागि स्थगित भएको समिति सदस्य निरुदेवी पालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

आइतवार बिहान बस्ने भनिएको बैठक समिति सदस्यद्वय पुष्पा भुसाल र जितेन्द्र देव काठमाडौं बाहिर भएको र आवश्यक छलफल गर्न पनि बाँकी रहेको हुँदा बैठक नबसी स्थगित भएको समितिका सदस्य सांसद पालले जानकारी दिनुभयो ।

नेकपाको हातमा जोशीको प्रधानन्यायाधीश पद !

प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्तारूढ नेकपाभित्रै अलमल छ ।

नेकपा नेताहरू निष्कर्षमा नपुगेकाले संसदीय सुनुवाइ समितिको आइतबारको बैठक केही सदस्य अनुपस्थित भएको प्राविधिक कारण देखाउँदै सोमबार दिउँसोसम्मका लागि स्थगन भएको छ ।

१५ सदस्यीय समितिमा सत्तारूढ दलका १० सांसद छन् । उनीहरूले चाहे जोशीको नाम अस्वीकारसमेत गर्न सक्छन् ।

सांसदहरूको एकमत बनाउन र पार्टीको निष्कर्ष दिन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताले संसदीय सुनुवाइका क्रममा जोशीमाथि उठेका प्रश्न र समितिमा रहेका दलका सांसदहरूको राय बुझिरहेका छन् ।

शैक्षिक प्रमाणपत्र र केही फैसलाहरूमा प्रश्न उठेको, समितिमा सांसदले सोधका प्रश्नको जवाफ राम्ररी दिन नसकेको र अदालतको सुधारका कुनै योजना पेस नगरेको भन्दै समितिका सदस्यहरू जोशीप्रति सन्तुष्ट हुन सकेका छैनन् । गत बिहीबार जोशीको सुनुवाइ भएपछि प्रधानमन्त्री ओलीसहितका नेताहरूले समितिका सदस्य र सम्बन्धित क्षेत्रका विज्ञहरूसँग परामर्श गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्