चितवनबाट मिर्गौला तस्करी, गिरोहका पाँच जना समातिए
काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले मृगौला तस्करी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले गएको असार २५ गतेदेखि स्वास्थ्य क्षेत्रमा भएको अपराध नियन्त्रण गर्नका लागि परिचालन गरेको मेडिकल रेस्पोन्स टिमले मिर्गौला तस्करी गर्ने पाँच जना गिरोहलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर–४, बस्ने ४१ वर्षका हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका–४, बस्ने ३५ वर्षका बिक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५, बस्ने २८ वर्षका प्रकाश तामाङ, मोरङको साविक बयरबन गाविस–६, बस्ने ३४ वर्षका दिपक लिम्बु र रसुवाको उतरगया गाउँपालिका वडा नम्बर–३, बस्ने २८ वर्षका विशाल नेपाली रहेका छन् ।
उनीहरुले विकट क्षेत्रका नागरिकलाई प्रलोभनमा पारी मिर्गौला बिक्री वितरण गर्ने गरिएको प्रहरी अनुसन्धानबाट खुलेकोले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता प्रभुप्रसाद ढकालले बताउनुभयो । घटनामा अन्य धेरै व्यक्तिहरु संलग्न भएको हुन सक्न देखिएकोले थप अनुसन्धान गरी खोजी कार्य जारी रहेको ढकालले जानकारी दिनुभयो ।
पक्राउ परेका दुर्गा परियार बाहेकका अन्यले अरु तस्करहरुको सम्पर्कबाट भारतको विभिन्न अस्पतालहरुमा गई १÷१ वटा मिर्गौला बिक्री गरेको खुलेको उहाँले बताउनुभयो । उनीहरुले मिर्गौला बिक्री गर्ने मानिस खोजी सम्पर्क गराई दिए बापत एकजनाको मृगौला बिक्रीबाट ५० हजारदेखि एक लाखसम्म कमिशन लिने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको ढकालले बताउनुभयो ।















प्रतिक्रिया दिनुहोस्