नेपाल, नेदरल्याण्ड्स र एमसीसीको त्रिकोणात्मक क्रिकेट शृंखला आज

नेपालले आज नेदरल्याण्ड्स र इग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लबसँग त्रिकोणात्मक ट्वेण्टी–ट्वेण्टी क्रिकेट खेल्दैछ । मैत्रीपूर्ण भएपनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मान्यता दिएको यो शृंखलाका लागि नेपाली टोली अघिल्लो हप्ता नै इंग्ल्याण्ड पुगेको छ ।

एमसीसीसँगको खेल नेपाली समय अनुसार बेलुका ६ बजेपछि शुरु हुनेछ । त्यस्तै, नेपाल र नेदरल्याण्ड्सले नेपाली समय अनुसार राति साढे १० बजेपछि खेल्नेछन् । त्यसअघि दिउँसो पौने ३ बजे नेदरल्याण्ड्स र एमसीको खेल हुनेछ । एमसीसीको कप्तानी भेट्रान श्रीलंकाली क्रिकेटर महेला जयबर्द्धनेले गर्नेछन् ।

नेपालका कप्तान पारस खड्काले नेपाली टीमका लागि आजको खेल महत्वपुर्ण अवसर भएको प्रतिक्रिया दिएका छन् । ३ वर्षपछि नेपाली टोली आईसीसीले मान्यता दिएको ट्वेण्टी ट्वेण्टी क्रिकेट खेल्न लागेकाले नेपालका लागि आजको खेल महत्वपूर्ण र इतिहास बनाउने अवसर भएको कप्तान खड्काको भनाइ छ ।

मैत्रीपूर्ण भए पनि नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आईसीसीले अन्तर्राष्ट्रिय ट्वेण्टी ट्वेण्टीको मान्यता दिएको छ । दुवै ट्वेण्टी ट्वेण्टी अन्तर्राष्ट्रिय मान्यता पाएका टीम हुन् ।


एक हप्ताअघि इंग्ल्याण्ड पुगेको नेपाली टोलीले त्यहाँका स्थानीय क्लवहरुसँग दुई एकदिवसीय र दुई ट्वेण्टी ट्वेण्टी ढाँचाका अभ्यास खेल खेलेको थियो । जसमध्ये तीन खेलमा जित हासिल गरेको नेपाल १ खेलमा पराजित भएको थियो ।त्रिकोणात्मक शृँखलापछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । जहाँ नेपालले आगामी बुधबार र शुक्रबार नेदरल्याण्ड्ससँग एतिहासिक एकदिवसीय शृंखला खेल्नेछ । एकदिवसीय मान्यता पाएपछि पहिलो पटक नेपालले शृंखला खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्