तोकिएको कार्यक्षेत्रमा जान चिकित्सकहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले तोकिएको कार्य क्षेत्रमा जान चिकित्सकहरुलाई कडा निर्देशन दिएका छन् ।
उपप्रधानमन्त्री यादवले काठमाडौं बाहिरका अस्पतालहरुमा खटाइएका चिकित्सकहरु कार्य क्षेत्रमा नजाने गरेको उल्लेख गर्दै सबैलाई आ– आफ्नो कार्य क्षेत्रमा जान सचेत गराएका हुन् ।
उनले वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुलाई तोकिएको अवधिभर काम गर्न पनि निर्देशन दिए ।
वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुले अस्पतालमा पर्याप्त समय नदिने गरेको जनगुनासो आइरहेको उल्लेख गर्दै ‘डयूटी आवर’ भित्र अस्पतालकै सेवामा रहन सचेत गराए ।
वीर अस्पतालको १ सय २९ औं वार्षिकोत्सवको अवसरमा उनले चिकित्सकहरुको पहिलो कर्तव्य उपचार भएकाले त्यसलाई पूरा गर्न प्रतिवद्धताका साथ अघि बढनुपर्नेमा पनि जोड दिए ।
उपप्रधानमन्त्री यादवले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारको रुपमा नभई सेवाको क्षेत्रको रुपमा विकास गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। पुष्पा चौंधरीले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर स्वास्थ्य क्षेत्रको विकासमा लागि पर्न मातहतका निकायलाई सचेत गराए ।
प्रतिक्रिया दिनुहोस्