कृषि मन्त्रालयको दाबि- ८२ प्रतिशत क्षेत्रमा धान रोपाई सकियो

काठमाडौं ।  मनसुनी अनुकुलता र सिंचाई सुबिधामा भएको बृद्धिका कारण यो बर्ष मुलकभर धान रोँपाई अघिल्लो बर्ष भन्दा बढी भएको छ । साउनको दोस्रोमा कुल खेतियोग्य जमीनको ८२ प्रतिशत क्षेत्रमा धान रोपाई सकिएको कृषि, भुमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सुचना अधिकृत मणीरत्न अर्यालका अनुसार साउनसम्ममा अधिकांश खेतीयोग्य जमिनमा रोपाई सकिनेछ ।  अघिल्लो बर्ष भने कुल खेतीयोग्य जमिनको ८५ प्रतिशत मात्र धान खेती भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

मनसुनमा आएको सुधारसँगै समयमै धान रोपाई सकिने भएकाले उत्पादनमा समेत सुधार आउने मन्त्रालयको अपेक्षा छ । कुल धानखेती हुने १५ लाख ५२ हजार हेक्टरमध्ये तराईका केही जिल्ला बाहेक अधिकांश हिमाली र पहाडी जिल्लाको रोपाई भने सकिएको उनले बताए ।

पुर्वी तराईका जिल्लाहरुमा पनि खेती सकिनै लागेकाले यसबर्ष हालसम्मकै उच्च रोपाई हुने संभावना देखिएको मन्त्रालयले जनाएको छ ।  यसैबीच पूर्वबाट धान र मकै आयातमा गतवर्ष वृद्धि भएको छ । विराटनगर भन्सार नाका हुँदै गत आर्थिक वर्षमा करिब १ अर्ब ५३ करोड रुपैयाँ बराबर धान आयात भएको छ ।

भन्सार कार्यालयका अनुसार सो मूल्य बराबरको करिब ५५ हजार मेट्रिकटन धान आयात भएको छ । अघिल्लो आर्थिक वर्ष भन्दा यो वर्ष ३० हजार मेट्रिकटन बढी धान आयात भएको थियो । यसैगरी सो नाकाबाट करिब ३ अर्ब ९२ करोड रुपैयाँको मकै आयात भएको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्