माथिल्लो तामाकोसीको सेयर काठमाडौंबाटै भर्न पाइने, गाउँगाउँमा स्वयंसेवक जाने
रमेश लम्साल (रासस)
काठमाडौं, साउन ११ । राष्ट्रिय गौरवको आयोजनामा आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयरमा आवेदन दिन थप सहज बनाइएको छ ।
गोरखा भूकम्पका कारण दोलखामा बसोबास गर्दै आएका नागरिक काठमाडौं उपत्यकामा बसोबास गर्नेक्रम बढेका कारण उनीहरुका लागि आफू बसेको स्थानबाटै सेयरमा आवेदन गर्न पाउने व्यवस्था गरिएको हो ।
नेपालको आफ्नै लगानीमा निर्माण भइरहेको ४५६ मेगावाट क्षमताको सो आयोजनामा धेरैभन्दा धेरै नागरिकको सहभागिता गराउने लक्ष्यका साथ सरोकार भएका सबै पक्षसँग सहमतिसमेत जुटाइएको छ ।
नेपाल धितोपत्र बोर्ड, आयोजना, आयोजनाप्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकार भएका व्यक्तिको उपस्थितिमा बिहीबार भएको छलफलमा दोलखावासी सबैलाई न्यूनतम् सेयर उपलब्ध गराइने जनाइएको छ ।
बोर्डका प्रवक्ता नीरज गिरीकाअनुसार काठमाडौं उपत्यकाभित्रैबाट पनि सेयर आवेदन दिन पाउने गरी व्यवस्था गरिएको छ ।
स्थानीयवासीले साधारण सेयर आवेदन दर्ता गर्न जिल्ला जानैपर्ने बाध्यताकोसमेत अन्त्य भएको छ ।
दोलखावासीले लामो समयदेखि राख्दै आएको मागको समाधान भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता आनन्द पोखरेलले जानकारी दिए ।
भूकम्प, बसाइँसराइ गरेर आएकालाईसमेत सहजरुपमा नै सेयर आवेदन गर्न दिइने विषयमा सहमति भएको र त्यसले लामो समयदेखि उठ्दै आएको मागको सम्बोधन भएको उनको भनाइ छ ।
आयोजनाले स्थानीय तह बन्नुभन्दा पहिल्यै गरिएको निर्णयका आधारमा सेयरमा आवेदन गर्दा अतिप्रभावित, कम प्रभावित र प्रभावित गरी तीन श्रेणीमा विभाजन गरेको थियो । स्थानीयवासीले तह निर्धारण वैज्ञानिक नभएको भनी गुनासो गर्दै आएका थिए ।
सरोकार भएका निकायबीचको छलफलका आधारमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने अन्य आयोजनामा सेयरको विषयमा थप लचिलो बन्ने र कम सेयर पाउने नागरिकलाई सम्बोधन गरिने भएको छ ।
सहमतिअनुसार हितग्राही खाता नभएका दोलखावासीलाई सेयर आवेदन गर्न दिइनेछ ।
नेपाल स्टक एक्सचेन्जमा सेयर सूचीकृत हुन केही समय लाग्ने भएकाले तत्काल हितग्राही खाता नभएपनि केही फरक नपर्ने देखिएको छ ।
सेयर आवेदकलाई सहजताका लागि स्वयंसेवक परिचालन गरी दोलखाका गाउँगाउँमा परिचालन गरिनेछ । उनीहरुले स्थानीयवासीको घरघरमा नै गएर सेयर संकलन गर्ने, सेयर फाराम भराउने काम गर्नेछन् ।
हितग्राही खाता भएकाले त्यस्तो खाता संलग्न गराउनेछन् भने नभएकाले पनि तत्काल भने सेयरमा आवेदन दिन पाउनेगरी व्यवस्था गरिएको बोर्डका प्रवक्ता गिरीको भनाइ छ ।
दोलखामा रहेको बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।
बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सहमति भएको विषयलाई बोर्ड सन्चालक समितिको बैठकबाट निर्णय गरिने र सार्वजनिकरुपमा जानकारी गराउने वचन दिएका छन् ।
तामाकोसीको साधारण सेयर यही साउन १६ देखि भदौ १४ गतेसम्म बिक्री गरिनेछ ।
आयोजनाप्रभावित दोलखाका स्थानीयवासी र सर्वसाधारणलाई गरी रु दुई अर्ब ६४ करोड ७५ लाख बराबरको दुई करोड ६४ लाख ७५ हजार कित्ता साधारण सेयर बिक्री गर्न लागिएको छ ।
स्थानीयवासीलाई सेयर बाँडफाँट गरेपछिमात्रै आमनागरिकलाई सेयर बिक्री गर्ने तयारी गरिएको छ ।
आयोजनाको व्यवस्थाअनुसार स्थानीयवासीलाई रु एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड ९० लाख कित्ता सेयर बिक्री गरिनेछ ।
यस्तै, सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ कित्ता साधारण सेयर बिक्री गरिनेछ ।
आयोजना प्रभावितले प्रतिकित्ता न्यूनतम् ३० देखि अधिकतम् ३०० कित्ता सेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।
यस्तै, सर्वसाधारणले ५० देखि बढीमा एक हजार कित्तासम्म सेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।
माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेकाअनुसार हाल आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भएको छ । आगामी पुस मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको सुरुङ मर्मत–सम्भारको काम प्रभावकारीरुपमा हुन नसक्दा आयोजना केही ढिलाइ हुन्छ कि भन्ने आशंका बढेको छ ।
भौतिक निर्माण र इलेक्ट्रोमेकानिकलतर्फको काममा उल्लेख्य प्रगति भएपनि सुरुङ मर्मतको काममा केही ढिलाइ भएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
कुल ४७ किलोमिटर लामो प्रसारणलाइनमध्ये हालसम्म २४ किमि प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।
यस्तै, १०८ ओटा टावर ठडिइसकेको छ भने १२३ ओटा टावरको फाउन्डेसन तयार भएको छ ।
प्रतिक्रिया दिनुहोस्