आज गुरु पूर्णिमा, विभिन्न कार्यक्रम गरि मनाईंदै

काठमाडौं, ११ श्रावण । आज गुरु पूर्णिमा । गुरु नै सत्य र तथ्य ज्ञान दिने भण्डार हुन् । गुरु ज्ञानरुपी उज्यालो र त्यसको महत्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहणगर्नका लागि गुरु र गुरुतत्वको ठूलो महत्व छ ।

आषाढशुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमालाई सबैले आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकटगरी मनाउने गरिन्छ । यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ । गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै देशभरि कलेज, स्कूल, शिक्षालय र दिक्षालयमा यस दिन विभिन्न कार्यक्रम गरि गुरुपूर्णिमा मनाउने गरिन्छ ।

सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारस्पारिक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिने गर्छन् । चाहे मुस्लिमहरूको मदर्सामा पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी या साना साना हातमा कलम राखेर क ख रा पढाउने र सिकाउने शिक्षक, शिक्षिकाहरू किन नहुन उनिहरुले सिकाएका र दिएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेका हौं त्यसलै उहाहरुप्रति श्रद्धा गर्दछौं ।

विज्ञान प्रविधीको अहिलेको युगमा पक्कैपनि हामीले ज्ञान प्राप्तिकालागि एकलब्यले जस्तो द्रोणाचार्यको प्रतिमुर्ती बनाएर र त्यसैलाई गुरु थापेर सिक्नपर्ने जरुरत छैन न त गुरुदक्षीणाका रुपमा औंला नै काटेर दिनुपर्ने वलिदान नै । विश्वस्तरका शिक्षाकालागि संस्थागतरूपमा स्थापना भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेशा अनि सञ्चारका माध्यमहरुले पनि हामीलाई गुरुरुपी शिक्षा दिइरहेका छन् ।

तर संसार जहाँ नै पुगेपनि गुरुतत्वले स्वरुप परिवर्तन गरेका हो, शिक्षा आकाशबाट वर्षिदैन न त आकाशवाणी नै हुन्छ । शिक्षाका श्रोत र हस्तान्तरणकर्ताहरु सबैजना गुरु हुन्, गुरुतत्व हुन् ।

संसार जत्तिकै आधूनिक र ज्ञानहरु जत्तिकै सहज र ब्यवसायीक रुपमा उपलब्ध भए पनि संसारमा गुरुतत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ । गुरुतत्वको त्यहि महत्वलाई आत्मसाथ गरेर हुनसक्छ सनातन संस्कारमा बर्ष पछिको बर्ष र युग पछिका युगहरुमा पनि गुरुहरुलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ ।

आउँदा पुस्ताहरुलाई पनि गुरु, ज्ञान र गुरुतत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरुलाई श्रद्धा गरिन्छ । हुन त गुरु पूर्णीमाको दिनमा श्रद्धा गर्ने अन्य बखत नगर्न भन्ने होइन । गुरु सधैं मान्य र श्रद्धा र ज्ञानको स्रोत हुने । त्यसलै सधैं सबैले श्रद्धा गर्नेपर्छ । गुरु मार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो गुरुपूर्णिमा ।

 

प्रतिक्रिया दिनुहोस्