नेपालकाे तेस्रो अभ्यास खेलमा इस्ट लन्डन–११ विरुद्ध शानदार जित

काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा सहज जित निकालेको छ ।

गएराति भएको तेस्रो अभ्यास खेलमा नेपालले इस्ट लन्डन–११ लाई २२३ रनको फराकिलो अन्तरमा पराजित गरेको हो ।

नेपालले दिएको ३३९ रनको विशाल लक्ष्य पछ्याएको इस्ट लन्डन–११ ले ३८ ओभर ५ बलमा सबै विकेट गुमाँउदा ११५ रनमात्रै जोड्न सक्यो ।

सन्यास घोषणा गरिसकेका नेपालका शक्ति गौचनले ४ विकेट लिंदा करण केसी र ललित भण्डारीले समान २÷२ विकेट झारे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अनिल कुमार साहको शतकीय इनिङ्समा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रन बनायो ।

नेपालका लागि अनिलले ११८ बलमा १९ चौका र ३ छक्काको मद्दतमा १ सय ३१ रन बनाए । यसैगरी शरद भेषावाकरले ९८ रन जोडे ।

कुनै समय ५८ रन जोड्दा तीन विकेट गुमाइसकेको नेपालका लागि अनिल र शरदले चौथो विकेटको लागि २१२ रनको साझेदारी गर्दै उच्च योगफल तयार पारे ।

इंग्ल्याण्डको लर्डसमा त्रिकोणात्मक सिरिज र नेदरल्यान्डविरुद्ध ऐतिहासिक एक दिवसीय क्रिकेट खेल्न युरोप पुगेको नेपालले यतिबेला बेलायतमा अभ्यास खेल खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्