दक्षिण कोरिया जाने महिलाको संख्या बढ्दै

काठमाडौँ । महिलाभन्दा पुरुष कामदार बढी दक्षिण कोरिया गइरहेको अवस्थामा अहिले महिलाको संख्यामा केही सुधार हुँदै आएको छ ।

सन् २००८ मा सुरु भएको इपिएस प्रणालीमार्फत दक्षिण कोरियामा कामदार पठाउने सम्बन्धमा अहिले पहिलेभन्दा बढी महिला कामदारको आवेदन आएपछि महिलाको संख्यामा बृद्धि भएको इपिएस कोरियाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

‘कोरियाको लागि महिलाको आवेदन नै कम पर्ने गरेको छ,’ खनालले भने । नेपाली समाजमा पुरुषवादी सोचाइ बढी भएकै कारण महिलाको संख्या पुरुषको दाँजोमा कम भएको खनालको बुझाइ छ ।

सुरुको वर्षमा जम्मा दुई प्रतिशत मात्र महिला कामदार रोजगारीका लागि कोरिया पुगेका थिए । त्यस्तै २००९ मा बढेर महिलाको संख्या दुई प्रतिशतले बढेर चार प्रतिशत पुगेको थियो भने २०१० मा नौं प्रतिशत थियो ।

विगतमा १० प्रतिशत मात्र महिलाको आवेदन पर्ने गरेकोमा हाल भने बढेर १५ प्रतिशत पुगेको इपिएस शाखाले बताएको छ ।

शाखाको तथ्यांक अनुसार २००८ देखि २०१८ सम्ममा जम्मा ५५ हजार ६३७ नेपाली कामदार रोजगारीका लागि दक्षिण कोरिया पुगेका थिए । जसमा पुरुषको संख्या ५२ हजार २४० छ भने महिलाको संख्या तीन हजार ३९७ मात्र छ ।

विशेष गरी कामदारहरु कारखाना, कृषि र माछासम्बन्धी कामका लागि कोरिया पुग्ने गरेको शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।

शाखाले दिएको तथ्यांक अनुसार हालसम्म कारखानाका लागि ४० हजार ७६५ कामदार, कृषिका लागि १४ हजार २२६ कामदार र माछासम्बन्धी कामका लागि ६४६ कामदार कोरिया पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्