सरकार र डा. केसी वार्ता: मुख्य मुद्दामा छलफल नै हुन सकेन, डा. केसीको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं । सत्तारुढ नेकपाका नेताहरुले सहमतिनजिक भने पनि सरकार र डा. गोविन्द केसीबीचको वार्ता मुख्य मुद्दामा प्रवेश नै नभएको पाइएको छ ।

सरकारी र डा. केसी पक्षको वार्ता टोलीबीच चिकित्सा शिक्षा विधेयकबारे छलफल नै हुन सकेको छैन ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलमा औपचारिक वार्तासँगै अनौपचारिक सम्वाद चलिरहेको छ ।

बुधबार पनि नेम्वाङको पहलमा केदारभक्त माथेमालगायतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
तर, चिकित्सा शिक्षा विधेयकमा केके संशोधन गर्ने भन्ने कुनै ठोस सहमति भएको छैन ।

नेम्वाङले संसदमा विचाराधीन विधेयक फिर्ता नलिने तर, आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएपछि डा. केसीको टोलीले लिखित नै बुझाएको छ । त्यसमा अध्यादेशमा भएका १० वर्षे प्रतिबन्ध लगायतका विषयहरु नै छन् ।

डा. केसीको स्वास्थ्य अवस्था नाजुक

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ ।
उनको उपचारमा संलग्न चिकित्सकहरुले केसीको सेतो रक्तकोकोष (डब्लूबीसी) कम हुँदै गएको बताउँदै कुनै पनि वेला अचेत हुन सक्ने बताएका हुन् ।

डा. केसी अनसन बसेको बुधबार २६ दिन पुगेको छ ।

‘आज उहाँको रगतमा सुगरको मात्रा पनि धेरै कम भएको देखिएको छ । रगतमा चाहिने पोल्सियम तत्व पनि न्यून छ’, केसीको स्वास्थ्य अवस्थालाई नियालिरहेका चिकित्सकहरुले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसले गर्दा कुनै पनि वेला उहाँको मुटुको धड्कनमा समस्या आउन सक्छ ।’

‘उहाँको मुटुको चाल पनि अस्थिर छ । कुनै पनि पनि वेला गम्भीर समस्या आउन सक्छ’, चिकित्सकहरुले भनेका छन् ।

डा. केसीको मागको विषयमा सरकारसँग वार्ता भइरहे पनि सहमति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्