तीनपांग्रे साधन व्यवस्थापन गर्न खोज्दा भरतपुरमा तनाव‍,गाेली चल्याे, ५ प्रहरी र १ आन्दोलनकारी घाइते

 काठमाडौं । भरतपुरमा आन्दोलनरत तीन पांग्रे सावारी व्यवसायी र प्रहरीबीच झडप भएको छ। भरतपुर महानगरपालिका अन्तर्गत मुख्य राजमार्गमा तीन पांग्रे सवारीसाधनलाई गुड्न रोक लगाइएको निर्णयको विरोधमा प्रदर्शनमा उत्रिएका व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा अटो, इरिक्सा, ट्याम्पोलगायतका सवारी रोकी व्यवसायीहरु प्रदर्शनमा उत्रिएका थिए। राजमार्ग खाली गर्न व्यवसायीहरुले नमानेपछि प्रहरीले बल प्रयोग गरेको हो।

झडपमा परी एक जना प्रदर्शनकारी र आन्दोलनकारीले हानेको ढुंगा प्रहारबाट ५ जना प्रहरी घाइते भएका चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले बताए। प्रहरी प्रमुख राठौरका अनुसार घाइते हुनेहरुमा आन्दोलनकारी ठाकुर सिंह तथा प्रहरी जवानहरु गोपाल पाठक, सुरज बिक, केसब पाण्डे, हर्कबहादुर दराई र नेत्रबहादुर बुढाथोकी रहेका छन्। उनीहरुको हाल भरतपुर अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको अवस्था खतरामुक्त रहेको राठौरले बताए।

झडपका क्रममा प्रहरीले केही राउन्ड हवाई फायर गर्नुका साथै करिब ६० सेल अश्रुग्यास प्रहार गरेको प्रहरी प्रमुख राठौरले बताए।

आन्दोलनका क्रममा व्यवसायीले एउटा मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक भ्यानमा समेत तोडफोड गरेका छन्। राजमार्गमै टायर बाली प्रदर्शनमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच पटक–पटक ढुङ्गा हानाहान भएको थियो।

भरतपुर महानगरपालिकाले गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्