भावुक हुँदै कानूनमन्त्री तामाङले दिए राजीनामा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् ।
सरकार र पार्टीलाई नै बदनाम गर्ने प्रयास भएको भन्दै सत्तारुढ नेकपाका शीर्ष नेताहरुले सोमबार साँझ बालुवाटार बोलाएर कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले राजीनामा घोषणा गरेका हुन् । उनले भावुक हुदै आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताए।

बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफूलाई सुम्पनु पर्ने अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भएको थियो ।

सुरूमा उनले आफूले पदभार सम्हालेपछि गरेका कामहरूको बारे चर्चा गरेका थिए। त्यसपछि उनी भावुक बनेका थिए । उनका आँखा समेत रसाएका थिए । उनले आफूले बोलेको कुरालाई काँटछाँट गरी भिडियो बनाएर हालेको गुनासो गरे।

प्रतिक्रिया दिनुहोस्