पोखरीमा डुबेर एकको मृत्यु, तीन बालबालिका घाइते
काठमाडौं । सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालिकासहित तीन जना घाइते भएका छन्।
गाउँ नजिकै बाख्रा चराउन गएको समयमा स्थानीय शंकर साहको पोखरीमा सोमबार अपरान्ह नुहाउन पसेका लक्ष्मी महतोका छोरा ६ वर्षीय आयुष महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
गोलबजारका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक राजेश सुवेदीका अनुसार आयुषसँगै पोखरीमा नुहाउन पसेका मृतककी दिदी ८ वर्षीया अनिसा, रामअवतार महतोका ७ वर्षीय छोरा राजन र सोमनाथ महतोका ६ वर्षीय छोरा अर्का आयुष महतो घाइते भएका छन्।
घाइते सबैको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भईरहेको र सबैको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।
बाख्रा चराउन गएका बालबालिका पोखरीमा नुहाइरहेका बेला पानीमा डुबेको देखेपछि स्थानीयले उद्धार गरी तत्काल प्रहरीलाई खबर गरेका थिए।
मृतक आयुषको शव पोष्टमार्टम लहानस्थित रामकुमार उमाप्रसाद स्माक अस्पतालमा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्