दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टोली पराजित
काठमाडौं । इंग्लण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा हार बेहोरेको छ ।
पहिलो अभ्यास खेलमा शानदार जित हात पार्न सफल नेपाली टोली हिजो भएको दोस्रो अभ्यास खेलमा भने सेन्ट क्रससँग १९ रनको पराजित भएको हो ।
सेन्ट क्रसले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारि।त २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि अनिल साहले ५६ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जिताउन सकेनन् । यस्तै आरिफ शेखले ३४ रन बनाए ।
नियमित कप्तान पारस विना मैदानमा उत्रिएको नेपालका लागि ज्ञानेन्द्र मल्लले १८ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।
उसका लागि जेम्मी आडम्सले सर्वाधिक ७२ रन बनाए । यस्तै फेलिक्स अर्गनले ३९ रनको योगदान दिए । नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान दुई विकेट लिए ।
बेलायत भ्रमणमा रहेको नेपालले अब दुई अभ्यास खेल खेल्न बाँकी छ ।
त्यसपछि नेपालले जुलाई २९ तारिखमा लर्डसमा हुने नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब (एमसीसी)सँग त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी श्रृंखला खेलनेछ ।
३० तारिखमा नेदरल्याण्ड्स प्रस्थान गर्ने टोलीले नेदरल्याण्ड्ससँग दुई वटा ऐतिहासिक एक दिवसिय खेल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्