प्रधानमन्त्री ओलीको चीन भ्रमणमा डेढ करोड खर्च ,कहाँ कति भयो त ?
काठमाडौं। वैदेशिक भ्रमणमा मितव्ययीताको नारा लिएको सरकारले एकै महिनामा २ करोड रुपैयाँभन्दा बढी यही शिर्षकमा रकमान्तर गरी खर्च गरेको छ।
अर्थ मन्त्रालयका अनुसार असारमा मात्रै वैदेशिक भ्रमणको प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत खर्च अन्तर्गत २ करोड १३ लाख ३७ हजार रुपैयाँ रकमान्तर भएको छ।
वैदेशिक भ्रमण अन्तर्गतको खर्चमध्ये सबैभन्दा धेरै रकमान्तर प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको खर्चको भुक्तानीका लागि भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले डेढ करोड रुपैयाँ रकमान्तर गरेको छ।
गत ५ देखि १० असारमा प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल चीन भ्रमण गएको थियो । प्रधानमन्त्री, मन्त्रि, सरकारी उच्च अधिकारी, उद्योगी÷व्यापारी सहित सञ्चारकर्मी लगायत एक सय १९ सदस्यीय टोली चीन भ्रमण गरेको थियो।
सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ बमोजिम हुनेगरी प्रचलित ऐन नियमको प्रक्रिया पूरा गरी भुक्तानी गर्न उक्त रकम निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त शिर्षकमा एक करोड ५१ लाख १५ हजार रुपैयाँ निकासा गरेको छ।
यसैगरी मन्त्रालयले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको नेतृत्वमा भएको भ्रमणमा १७ लाख रुपैयाँ र्ख भएको छ। विश्व स्वास्थ्य संगठनको ७१ औं महासभामामा सो खर्च भएको हो।
श्रीलंकामा आयोजित खेलकुदसम्बन्धी एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा खेलकुद मन्त्रीसहितको प्रतिनिधिमण्डलले ६ लाख २८ हजार रुपैयाँ खर्च गरेको छ।
भारतमा आयोजित कृषिसम्बन्धी सम्मेलनमा सहभागी मन्त्रीसहितको प्रतिनिधिमण्डलको भ्रमण खर्चका लागि पाँच लाख ५८ हजार रुपैयाँ, अर्थ मन्त्रालयका पदाधिकारीको विदेश भ्रमण खर्च शिर्षकमा १६ लाख १६ हजार र अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहितको प्रतिनिधिमण्डलको जेनेभा भ्रमणको खर्चका लागि २५ लाख १७ हजार रुपैयाँ रकमान्तर गरिएको छ।
यसैगरी मन्त्रालयले गत गत वैशाख अन्तिम साता भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण खर्चको रकम पनि निकासा दिएको छ । मन्त्रालयले उक्त भ्रमणमा भएको खर्चको भुक्तानीका लागि ६ करोड ३३ लाख रुपैयाँ निकासा गरेको छ ।















प्रतिक्रिया दिनुहोस्