कामु प्रधानन्यायाधीश जोशीविरुद्ध ५ उजुरी, सुनुवाई बिहीबार हुने

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस गरिएका दिपकराज जोशीको सुनुवाई आगामी बिहीबार गर्ने निर्णय गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिको सोमबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाई आगामी १० गते बिहीबार गर्ने निर्णय गरेको हो ।

सिंहदरबारमा बसेको समितिको बैठकले जोशीमाथि परेको उजुरीमाथि सोमबारबाट छानबिन पनि सुरु गरेको छ । मंगलबार उजुरीकर्तासँग छलफल गर्नेगरी समितिले प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको उजुरीमाथि छानबिनको काम सुरु गरेको हो ।

जोशीविरुद्ध ५ वटा उजुरी परेका छन । ती उजुरीमाथि स्पष्टिकरण लिन समितिले मंगलबार दिउँसो उजुरीकर्ताहरुसँग छलफल गर्ने निर्णय पनि गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिको गएको श्रावण ३ गते बसेको बैठकले सरकारले प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीशमा सिफारिस जोशीलाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्