आज साउनको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको घुइँचो

काठमाडौं । आज साउनको पहिलो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुईंचो लागेको छ ।
साउने सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। यो वर्षको पहिलो साउने सोमबार काठमाडौंका पशुपतिनाथ, कुम्भेश्वरलगायत मुलुकभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।

ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकोले यो दिनको शिवोपासना विशेष मानिन्छ। चन्द्रमा शिवकाे शिरमा बसेका हुनाले उनको बार (सोम अर्थात् चन्द्रमा)। त्यसैले सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी मानिएको छ।

यो वर्ष साउनमा चार वटा सोमबार परेको छ। यो सौर गणनाको हिसाबले हो। तर व्रत गर्दा धार्मिक कार्यका लागि चान्द्र तिथिबारको प्रयोग गर्नु भन्ने निर्देश छ। चान्द्र र सौर दुवै मिलेको भए अझै राम्रो। अर्थात् साउनको व्रत लिँदा चान्द्र पनि श्रावण नै होस्, सौर पनि साउन नै। शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ।

सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ। पौराणिक ग्रन्थहरूमा ब्रह्मालाई सृष्टि, विष्णुलाई रक्षा र शिवलाई संहारका देवता मानिएको छ।

शिवलाई सम्पूर्ण देवताका पनि देवता (देवाधिदेव) महादेव भनिएको छ।  साउनमा रुद्री लगाउने चलन भने नेपालीसमजमा चलेको देखिन्छ। विभिन्न कामना राखेर श्रावण महिनामा रुद्री गर्ने परम्परा छ। विशेषगरी सोमवार, नजुरे अन्य दिनहरुमा पनि ब्राह्मणहरूद्वारा रुद्राभिषेक गराइन्छ।

प्रतिक्रिया दिनुहोस्