बेरोजगारलाई ३ महिनाको निर्वाह भत्ता दिनेगरी सरकारको गृहकार्य हुदै
काठमाडौं । सरकारले बेरोजगार युवाको पहिचान गरेर १ सय २० दिनको बेरोजगार निर्वाह भत्ता दिने तयारी गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार तथा बेमौसमी रोजगारी गरिरहेका युवालाई बेरोजगार निर्वाह भत्ता दिने गरी प्रादेशिक सरकारसँग छलफल सुरु गरेको छ।
श्रम मन्त्रालयले आइतबार ७ प्रदेशका सामाजिक सुरक्षा मन्त्रीसँग राखेको छलफल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले सबै प्रदेशका मन्त्रीलाई आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिक र बेरोजगार युवाको तंथ्याक संकलन गर्न आवश्यक रहेको बताए।
एक परिवार एक रोजगारीको नीतिअघि बढाउँदै सरकारले लिएको अगामी ५ वर्षभित्र वाध्यताकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्यमा पुग्न प्रादेशिक सरकारको ठूलो भूमिका रहने मन्त्री विष्टले बताएका छन्।
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रारम्भिक अवधारणामाथिको छलफल कार्यक्रममा बोल्दै मन्त्री विष्टले वाध्यताकारी वैदेशिक रोजगारी अन्त्य गर्न सरकारलाई चुनौती रहे पनि सफलता हात पार्न प्रदेश सरकारको सहयोग आवश्यक रहने बताए।
सरकारले बेमौसमी तथा रोजगारीको अवसर नपाएका युवालाई बेरोजगार भत्ता उपलब्ध गराउने विषयमा सबै प्रदेशका सरकार र विज्ञसँग बृहत् छलफल गरिरहेको मन्त्री विष्टले जनाए।
प्रतिक्रिया दिनुहोस्