दुग्ध किसानको आन्दोलन जारी , सडकमा पोखाए २०० लिटर दूध
काठमाडौं । चितवनका दुग्ध किसानले दूधको मूल्य घटाएको भन्दै आन्दोलन जारी राखेका छन्। दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोप लगाउँदै उनीहरूले आइतबार चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरे चोकमा २०० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका छन्।
किसानलाई दिंदै आएको दूधको मूल्यमा ३ रुपैयाँ घटाएको दुग्ध उत्पादन सहकारी संस्था नगर समन्वय समिति खैरहनीका अध्यक्ष मुकुन्द दवाडीको दावी छ। खैरहनीमा रहेका २४ सहकारी संस्थाका प्रतिनिधिहरूले आइतबार सांकेतिक रुपमा भन्दै सडकमा दूध पोखेर विरोध गरेका हुन्।
यसअघि शुक्रबार पनि राप्ती नगरपालिकामा यसैगरी सडकमा दूध पोखेर विरोध गरेका थिए। सोमबार पनि रत्ननगरमा दूध पोखेर प्रदर्शन गर्ने चितवन जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष हरिहर सुवेदीले बताए। चितवनमा व्यवसायिक रुपमा दैनिक दुई लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ।
प्रतिक्रिया दिनुहोस्