आगामी साता चीनसँग पारवहन तथा यातायात सम्झौतामा हस्ताक्षर हुने
काठमाडौैं। नेपाल–चीन पारवहन तथा यातायात सम्झौतामा आगामी साता हस्ताक्षर हुने भएको छ। सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन यही साउन १४ र १५ गते राजधानीमा तेस्रो परामर्श बैठकको तय भएको छ।
सम्झौताको मस्यौदालाई निष्कर्षमा टुङ्ग्याउन तेस्रो परामर्श बैठकका लागि यही साउन १४ र १५ गतेको मिति चीनसमक्ष प्रस्तुत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
गत असार २६ र २७ मा चीनको राजधानी बेइजिङमा सम्पन्न दोस्रो परामर्श बैठकमा अर्को बैठक यही जुलाइभित्र काठमाडौँमा गर्ने द्विपक्षीय सहमति भएको थियो।
गत सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौंमा हुने तेस्रो बैठकमा सम्झौतामा हस्ताक्षर हुने बताएका थिए। मस्यौदालाई निष्कर्षमा पुर्याउन दुवै पक्षबीच सघन संवाद जारी रहेको र त्यो सकारात्मक दिशामा उन्मुख भएको उनी बताउँछन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको नेतृत्वमा हुने तेस्रो परामर्श बैठकमा परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून, न्याय तथा संसदीय मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन्।
चीनबाट विदेश, यातायात, सार्वजनिक सुरक्षा मन्त्रालयका साथै राष्ट्रिय रेल तथा सामान्य प्रशासन विभागका वरिष्ठ कर्मचारीले बैठकमा भाग लिने छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको गत महिना सम्पन्न चीन भ्रमणमा यस सम्बन्धि समझदारी भएको थियो। त्यसलाई कार्यान्वायनको प्रक्रिया अघि बढाइएको हो।















प्रतिक्रिया दिनुहोस्