नेविसंघमा विवाद : पार्टी नेतृत्वद्वारा महाधिवेसन रोक्ने चेतावनी
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले बोलाएको १२औं महाधिवेसनलाई पार्टी नेतृत्वले रोक्ने बताएको छ।
साउन २३ देखि २५ सम्म महामन्त्री कुन्दनराज काफ्लेको समूहले आयोजना गर्न लागेको महाधिवेसन हुन नसक्ने पार्टी सह–महामन्त्री डा प्रकाशशरण महतले बताए। संघको अध्यक्षकाे नेतृत्वमा हुनुपर्ने महाधिवेसनलाई अन्य विद्यार्थी नेताले आयोजना गर्न नसक्ने महतको भनाइ छ। महामन्त्रीको समूहले बोलाएको महाधिवेसनको वैधता नहुने महतले दावी गरे।
संघका अध्यक्ष नैनसिंह महर विधान विपरित चलेको जनाँउदै पार्टी नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका विद्यार्थी नेताहरु महाधिवेसनको तयारीमा लागेका छन्। ‘विधान विपरित मनोनयन तथा महाधिवेसन गर्न अध्यक्षले तत्परता नलिएपछि बाध्य भई महाधिवेसन डाकेका हौं।’ काफ्लेले भने।
पार्टीको ‘नर्सरी’ संगठनका रुपमा चिनिएको नेविसंघको विवाद मिलाउनका लागि शिर्ष नेताहरुको बैठक शुक्रवार बस्ने भनिएपनि बस्न सकेन। उक्त विवाद मिलाउन दलका नेताहरुको बैठक बस्नुपर्ने आवश्यकता नरहेको महतले बताए। ‘विधान विपरित महाधिवेसन आयोजना गर्न मिल्दैन। त्यही निर्देशन गर्छौँ।’, नेता महतले भने।
उता असन्तुष्ट नेता काफ्लेले बहुमतको निर्णय भएकोले महाधिवेसन नरोकिने दावी गरे।
यसैबीच महाधिवेसन आयोजक समूह र अध्यक्ष समूहको छुट्टाछुट्टै बैठक आज बस्ने भएको छ। अध्यक्ष समूहले महामन्त्रीको नेतृत्वले गर्न लागेको महाधिवेसनलाई मान्यता नदिने बताएको छ।
अर्कोतर्फ, असन्तुष्ट पक्षले महाधिवेसनको निर्णयलाई दुई तिहाई बढी केन्द्रीय सदस्यहरुको अनुमोदन रहेको दावी गरेको छ। १ सय २९ सदस्यीय केन्द्रीय समितीमा ८७ सदस्य आफ्नो पक्षमा रहेको असन्तुष्ट पक्षको दावी छ। उक्त पक्षले निर्वाचन तालिका अनुसार महाधिवेसन तयारी सुरु गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्