यातायात समितिको सम्पति सरकारीकरण प्रक्रिया सुरु !
काठमाडौं। सरकारले यातायात समितिहरुको सम्पति सरकारीकरण प्रक्रिया अघि बढाएको छ। समितिहरुले उपचार खर्च लगायतका विषयमा तिर्न बाँकी रकम तिर्ने र बाँकी सम्पती सरकारीकरण गर्न लागिएको हो।
गत असार ३१ गते गृह मन्त्रालयमा बसेको बैठकले उनीहरुको सम्पती राष्ट्रियकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’, यातायात मन्त्री रघुबीर महासेठ तथा दुवै मन्त्रालयका उच्च अधिकारीहरु सम्मिलित बैठकले सो निर्णय यातायात क्षेत्रसँग सम्बन्धित संघ, संस्था र समितिका चल–अचल लगायतका सम्पति नेपाल सरकारको मातहत रहने व्यवस्था गृह मन्त्रालयसँगको समन्वन्यमा भौतीक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने निर्णय भएको हो।
सरकारले समितिहरुलाई आगामी पुस महिनाभित्रै कम्पनीमा जान म्याद थप गरेको छ। त्यसपछि सबै समितिहरु खारेज गरेर उनीहरुको नाममा रहेको सम्पती सरकारीकरण गर्न लागिएको हो।
सवारी दुर्घटनामा घाइतेको उपचार, कर्मचारीको तलब लगायत अन्य दायित्व पुरा गर्न बाँकी रहेको भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयले समितिको खातामा रहेको रकमबाट भुक्तानीको व्यवस्था मिलाउने छन्।
प्रतिक्रिया दिनुहोस्