बैंकमा कार्यकर्तालाई जागिर नदिए शाखा खोल्न अवरोध
काठमाडौं । सरकारले बैंकहरुलाई ग्रामीण क्षेत्रमा जान दबाब दिइरहेको बेला राजनीतिक दलका स्थानीय नेताले आफ्ना कार्यकर्तालाई जागिर नदिएसम्म शाखा खोल्न नदिनेसम्मको अवरोध गरेका छन्।
वाणिज्य बैंकका उच्च अधिकारीहरुले सरकारको निर्देशनअनुसार स्थानीय तहमा शाखा खोल्न जाँदा राजनीतिक दलहरुले कार्यकर्तालाई जागिरमा लगाउने विषय उठाएर खोल्न नदिएको बताए । राजनीतिक दलका नेता कार्यकर्ताको यही व्यवहारका कारण स्थानीय तहमा शाखा खोल्न पुगेका बैंकहरु त्यत्तिकै फिर्ता आएका छन् ।
बैंक अधिकारीका अनुसार यस्ता घटना कम्तीमा पनि आधा दर्जन पुगिसकेका छन् । राजनीतिक दलसँगको सम्बन्ध बिग्रने र यसले पछिसम्म समस्या आउन सक्ने भन्दै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले आफ्नो बैंक र नाम सार्वजनिक नगर्न अनुरोध गरे।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पनि ग्रामीण क्षेत्रमा शाखा खोल्न अवरोध भइरहेको जानकारी दिए । उनले शाखा खोल्न ग्रामीण क्षेत्र पुगेका बैंकलाई दलका नेताले कार्यकर्तालाई जागिर नदिएको भन्दै रोकेको उदाहरण प्रशस्तै रहेको नागरिकलाई बताए।
‘रसुवामा आफ्नो मान्छे नराखेको भन्दै राजनीतिक दलहरुले एउटा वाणिज्य बैंकको शाखा खोल्न दिएनन् र गएका कर्मचारीलाई फिर्ता गरे,’ सिवाकोटीले यस्ता घटनाको एउटा उदाहरण दिंदै भने, ‘हामीले सुरक्षा माग गर्दै अर्थ मन्त्रालयमा पत्र पठाएका छौं ।’ एक बैंकका उच्च अधिकारीले आफुले पनि यस्तै समस्या भोगेको बताए ।
राष्ट्र बैंकले सबै सात सय ५३ स्थानीय तहमा शाखा खोल्न निर्देशन दिएपछि बैंकहरु शाखा खोल्ने चटारोमा छन्। यही बेला राजनीतिक दलका नेताले कार्यकर्तालाई जागिर नदिएको निहुँमा अवरोध गरिरहेका छन् । यसले वाणिज्य बैंकहरु राष्ट्र बैंक र राजनीतिक दलको दोहोरो चेपुवामा परेका छन् । । याे खबर अाजकाे नागरिक दैनिकले लेखेकाे छ ।















प्रतिक्रिया दिनुहोस्