डा. केसी अनशन र अस्पतालमा प्रहरी हस्तक्षेप, अस्पताल बन्यो रणमैदान !

अस्पताल बन्यो रणमैदान

काठमाडाैं – पञ्चायत र शाहीकालमा समेत अस्पतालभित्र प्रहरीले बल प्रयोग गरेको थिएन । तर, लोकतान्त्रिक सरकारको आदेशमा प्रहरीको जत्था लाठी र बन्दुकसहित अस्पतालभित्र छिरेर डाक्टर, नर्स र विद्यार्थीलाई घाइते बनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र हतियारधारी कुनै अपराधी होइन, सत्याग्रही अनशनकारी थिए । तर, निहत्था डा. गोविन्द केसीलाई नियन्त्रणमा लिन बिहीबार अस्पतालभित्र लाठीचार्ज र अश्रुग्याससमेत प्रयोग गरेर सरकारले आफ्नो छवि धमिल्याएको छ ।

अस्पतालभित्र हतियारधारी अपराधी होइन, सत्याग्रही अनशनकारी थिए

मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग गरेर बिहीबार काठमाडौं लगेको छ । उनलाई लैजाने क्रममा प्रहरी र केसीका समर्थकबीच झडप भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्रै प्रहरीले केसीका समर्थकमाथि अश्रुग्यास प्रहार गर्नुका साथै लाठी बर्सायो ।

करिब एक घन्टा भएको झडपमा एक प्रहरी र केही केसी समर्थक घाइते भएका छन् । आक्रोशित भिडले पनि प्रहरीमाथि आक्रमण गर्‍यो । केसीलाई अनशनस्थलबाट उठाउन प्रतिष्ठान हाताभित्रै प्रहरी परिचालन भएपछि झडप भएको थियो ।

तनाव बढ्दै गएपछि डा. केसीले पत्रकार सम्मेलन गरेर आफु काठमाडौं जान तयार भएको बताएका थिए । सरकारले बल प्रयोग गरेर आफुलाई काठमाडौं जान वाध्य बनाएको उनको भनाइ थियो । सरकारी टोलीले सेनाको हेलिकोप्टरमा हालेर अपराह्न ४ बजे उनलाई काठमाडौंतर्फ लग्यो ।

सामान्य घाइते भएकाहरू प्रतिष्ठानमै उपचार गरेर घर फर्किए पनि गम्भीर घाइते प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । झडपका क्रममा प्रतिष्ठानका झ्याल, ढोका र फर्निचर तोडफोड गरिएका छन् ।

जुम्ला डायरी

बिहान ९ बजे : अनशनरत डा. गोविन्द केसीलाई सरकारले काठमाडौं लैजाने हल्ला चलेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केसी समर्थकको विरोध प्रदर्शनको तयारी, केसीलाई लैजान सेनाको हेलिकोप्टर भगवती दल गणमा अवतरण ।

-बिहान १० बजे : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कानुनमन्त्री नरेश भण्डारी, सरकारी वार्ता टोलीका संयोजक खगराज बरालसहित प्रतिष्ठान हातामा प्रवेश, विद्यार्थीको अवरोध, डा. केसीलाई नभेटेरै उनीहरू फर्किए ।

-बिहान १०ः३० बजे : प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले र सरकारी टोलीबीच आधा घन्टा छलफल, केसीलाई काठमाडौं लैजाने सहमति बनेन । सरकारी टोली बल प्रयोग गरेरै भए पनि लैजाने निष्कर्षमा पुग्यो ।

बिहान ११ः३० बजे : प्रहरी बल प्रयोग गरेर अस्पतालभित्र छिर्‍यो । विरोधमा उत्रिएका विद्यार्थी र स्वास्थ्यकर्मीसँग झन्डै एक घन्टा झडप भयो । प्रहरी जवान कमल उपाध्याय गम्भीर घाइते भए । झडपका क्रममा प्रतिष्ठानका झ्यालढोकाका सिसा र फर्निचर तोडफोड भए ।

दिउँसो १ः३० बजे : डा. केसीले पत्रकार सम्मेलन बोलाए । जुम्लामा बसिरहँदा धनजनको ठूलो क्षति हुने देखिएकाले आफू काठमाडौं जान तयार भएको उनले बताए । तनावग्रस्त वातावरण त्यसपछि सामान्य बन्दै गयो ।

-दिउँसो ३ः०० बजे : जुम्लाका डिएसपी तपनकुमार दाहालले भिडलाई नियन्त्रणमा लिने उद्देश्यसहित ‘घाइते प्रहरी कमल उपाध्यायको निधन भयो’ भन्दै माइकिङ गरे । त्यसपछि प्रदर्शनकारी तितर–बितर भए ।

-अपराह्न ४ः०० बजे : प्रतिष्ठान परिसरमा केसीका केही समर्थक विरोधमै थिए । तर, पनि सरकारी टोली केसीलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लैजान सफल भयो । जाँदाजाँदै केसीले आपूmलाई बल प्रयोग गरेर सरकारले काठमाडौं जान बाध्य पारेको बताए । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्