आफैँले चलाएको गोली लागेर सैनिक घाइते, उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । डोल्पामा एकजना नेपाली सेनाका जवान आफैँले चलाएको गोली लागेर सख्त घाइते भएका छन्।

बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन्। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफैँले गोली चलाई घाइते भएका थिए।

आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा अनुप मंगल समालले जानकारी दिए।

डा अनुपले एक्सिडेण्टल बुलेट केस (बन्दूकबाट भएको दूर्घटना) भएकाले बिरामीले बोल्न नसक्ने र उनको उपचार डोल्पामा हुन नसक्ने भएपछि काठमाडौँ लैजान सल्लाह दिएको बताए। उनले भने,‘घाइतेको अवस्था गम्भीर छ, तर डोल्पामा उपचार सम्भव छैन। काठमाडौंमा उपचार हुन्छ। बिरामीको होस् गुमेको भने छैन।’

ड्यूटीमा रहेका जवानले अचानक गोली चलाएर हतियार पड्केको आवाज आएपछि मात्र अरुले थाहा पाएको सेनाले जानकारी दिएको छ। सेनाका अनुसार तत्काल जिल्ला अस्पतालमा उपचारका लागि लगेको र थप उपचारका लागि प्रदेश केन्द्रबाट हेलिकोप्टरको व्यवस्था गरी सुर्खेत हुँदै काठमाडौँ लगिएको छ।

घटना कसरी घट्यो भन्नेबारे थप अनुसन्धान भइरहेकाले घटनाका बारेमा तथ्य कुरा भन्न नसकिने ईश्वरीबक्स गुल्मका गुल्मपति जेनिथ जवेगुले जानकारी दिए।

ड्यूटीमा रहेका २२ वर्षीय ध्रुवको स्थायी घर कैलालीको धनगढीमा भएको नेपाली सेनाले जानकारी दिएको छ। घाइते जवानको अवस्था गम्भीर भए पनि होसमा रहेकाले उपचार राम्रैसँग हुने चिकित्सकले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्