केबलकार निर्माणका लागि आवेदन दिने क्रम बढ्दै, २५ ठाउँमा निर्माणका लागि आवेदन

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिने क्रम पछिल्लो समयमा बढेको छ ।

देशका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि त्यस्तो आवेदन परेको हो । मन्त्रालयले अध्ययन अनुमति दिने कानूनी प्रावधान छ ।

सहज यातायात सञ्जालको विकास तथा विस्तार गर्ने र पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने लक्ष्यका साथ पछिल्लो समयमा केबलकार निर्माणका लागि चासो व्यक्त गर्दै निर्माणमा जाने समूह तथा लगानीकर्तासमेत बढेका हुन् ।

मन्त्रालयका अनुसार दुर्गम क्षेत्रमा सहज यातायात सञ्चालनका लागि केबलकारको माग गर्दै आउने संख्या पछिल्लो दिनमा बढ्दै गएको छ । मनकामना दर्शन प्रालिले मनकामनामा केबलकार निर्माण गरेपछि नेपालमा केबलकारको युग शुरु भएको हो ।

मनकामनामा केबलकार चलेको लामो समयपछि मात्रै राजधानीमा चन्द्रागिरिमा केबलकार सञ्चालनमा आएको छ । देशका एक दर्जनभन्दा बढी स्थानमा केबल निर्माण भइरहेको छ । दोलखाको कालिञ्चोक, पोखराको फेवातालदेखि सराङकोट र पाथीभरामा केबलकार निर्माणको प्रक्रिया अगाडि बढिसकेको छ ।

मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर ध्रुवकुमार श्रेष्ठका अनुसार पछिल्लो समयमा केबलकार निर्माणका लागि भन्दै अध्ययन अनुमति माग्ने समूह बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्