सुरक्षाकर्मी अस्पतालबाट पछि हट्यो, हेलिकोप्टर डा केसी बिना काठमाडौं फर्कने तयारीमा

काठमाडौं ।  स्थानीय जुम्ली आमा समूह, नागरिक समाज, चिकित्सक विद्यार्थी र जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीबाट सुरक्षाकर्मी पछाडि हटेको छ ।

जबरजस्ती अस्पताल हाताभित्र छिरेर अस्पताल घेराउ गरेको सुरक्षाकर्मी विद्यार्थी, नागरिक समाज र कर्मचारीको अडानरुपी प्रतिकार सामु टिक्न नसकेपछि पछाडि हटेको हो ।

एकतर्फी रुपले प्राडा गोविन्द केसीलाई उनकै सहमति विपरित अपहरण शैलीमा जवरजस्ती काठमाडौं ल्याउने तयारी गरेपछि सबै एकजुट भएर प्रतिकार गरेका हुन् ।

यो प्रतिकारपछि सरकार पछाडि हटेको छ । २० दिनदेखि आमरण अनसनरत डा केसीलाई ल्याउन आएको हेलिकोप्टर रित्तै काठमाडौं फर्कने तयारीमा रहेको बताइएको छ ।

विद्यार्थीहरुले प्रहरीलाई अस्पताल हाताबाट बाहिर ल्याउन सफल भएको डा नारायण कर्णेलले जानकारी दिएका छन् ।

त्यसैगरी अस्पताल हाता बाहिर जुम्ली नागरिक समाज र आमा समूहले चर्को नाराबाजी गर्दै प्रहरी प्रशासनलाई हालय कायल बनाएका हुन् ।

उनीहरुले अपहरण गर्न पाइँदैन भन्दै प्रदर्शन गरेका हुन् ।

डा केसीले पनि आफू यथास्थितिमा कुनै पनि हालतमा काठमाडौं नजाने बताउँदै आएका छन् । केसीले आफ्नो आन्दोलन तुहाएर सरकारले आफू खुशी संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गराउने उद्धेश्यमा लागेको भन्दै प्रतिकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्