गर्मीयाममा सर्पदंशबाट पाँचजनाको मृत्यु, प्रभावकारी छैनन् सर्पदंश उपचार केन्द्र

काठमाडौ । दाङ जिल्लामा स्थापना भएका सर्पदंशका उपचार केन्द्र प्रभावकारी भएका छैनन् । राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र छन् । तर ती सर्पदंश उपचार केन्द्र ‘रेफर सेन्टर’को रुपमा मात्रै छन् ।
गर्मीयामसँगै जिल्लामा सर्पदंशबाट पाँचजनाको ज्यान गइसकेको छ । अस्पतालमा सर्पले टोेकेका बिरामी आएमा उनीहरुलाई सामान्य औषधि दिने र रिफर गरिदिने गरेको बिरामीका आफन्तले गुनासो गरेका छन् । केही बिरामीको बाटोमै मृत्यु भएको छ भने केही बिरामीको अस्पताल पु¥याएपछि मृत्यु हुने गरेको छ ।

जिल्लाका तीनवटै सर्पदंश उपचार केन्द्र नाममा मात्रैका सिमित छन् । उपचार केन्द्र प्रभावकारी नहँुदा सर्पदंशका बिरामीको मृत्यु हुने गरेको छ । तीनवटै स्वास्थ्य संस्थामा भेन्टिलेटर छैन, जसले गर्दा बिरामीलाई औषधि दिने अनि अन्यत्र पठाउनेभन्दा अर्को विकल्प नभएको चिकित्सकले बताउने गरेका छन् ।

अस्पतालमै प्रभावकारी सेवा प्रदान गर्नका लागि भेन्टिलेटरको व्यवस्था अनिवार्य छ । लमही अस्पतालमा पनि औषधि मात्रै छ । अस्पतालका निमित्त प्रमुख डा विमलेशकुमार गुप्ताका अनुसार औषधि भएर मात्र सर्पदंशका बिरामीको उपचार सम्भव नभएको भन्दै उनले सर्पदंशका बिरामीको सफल उपचारका लागि भेन्टिलेटरको व्यवस्था अनिवार्य रहेको बताए ।

जिल्लामा करेत र गोमन सर्पको दंशबाट धेरै व्यक्तिको ज्यान जाने गरेको छ । यी सर्पको विष साह्रै विषालु हुने र मानव शरीरलाई असर पु¥याउने किसिमका हुन्छन् । यी सर्पको विषको कारणले शरीरमा पक्षाघात हुने गर्छ । श्वासप्रश्वासमा पक्षाघात भई सास फेर्न नसकेर बिरामीको मृत्यु हुने चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्