डाक्टर केसीको अनसन : देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द, हजारौँ विरामी मर्कामा
काठमाडौं । डाक्टरहरुले देशभरिका सरकारी तथा निजी स्वास्थ्य संस्थामा विहीबार आकस्मिक बाहेकका उपचार सेवा नदिने भएका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै २० दिनदेखि जुम्लामा अनसन बसिरहेका डाक्टर गोविन्द केशीको जीवन रक्षा र माग पूरा गर्न दबाब दिन आज देशभरका सरकारी तथा नीजि अस्पताल, नर्सिङ होम, क्लिनिकमा आकस्मिकबाहेकको स्वास्थ्य सेवा नदिइने नेपाल चिकित्सक संघले जनाएको छ ।
डाक्टर केसीको माग पूरा गर्न १९ दिनसम्म समय दिँदा पनि सरकारले वेवास्ता गरेको र केशीको स्वास्थ्य अत्यन्तै जोखिममा परेपछि बाध्य भएर अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्नुपरेको चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए । उनले दिउँसो १२ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सरकारलाई दबाब दिने पनि बताए।
सरकारले अझै आफ्ना माग पूरा नगरे हड्ताल लम्ब्याउने संघले जनाएको छ । सरकारले गठन गरेको बार्ता टोलीले समस्या समाधानमा गम्भीरता नदेखाएको र जवरजस्ती केसीलाई काठमाडौं ल्याउन मात्र खोजिएकोमा पनि संघले आपत्ति जनाएको छ ।
तर, अस्पताल जस्तो अति संवेदनशिल क्षेत्रमा डाक्टरले नै आन्दोलन गरेकोबारे आलोचना पनि भइरहेको छ । २४ सै घण्टा सेवा दिनुपर्ने र बन्द हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्र भएपनि डाक्टरले नै सेवा बन्द गर्नु नागरिकको मौलिक हक विरुद्ध र कानूनको पनि विपरित हुने भन्दै आलोचना गरिएको हो ।
डाक्टर केसीको माग प्रति ऐक्यवद्धता जनाउँदै तथा उहाँको जीवनरक्षाका लागि दबाब दिन प्रजातन्त्रवादी प्राध्यापक संघले पनि माइतीघरमण्डलामा दिउँसो साढे १२ बजेपछि प्रदर्शन गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्