अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने नेकपाको निर्णय
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको छ ।
नेकपाको बुधबार बसेको आकस्मिक बैठकले बैठकले डा. केसीको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै बिहीबार नै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय गरेको हो । उहाँका मागबारे काठमाडौंमै बसेर गम्भीर छलफल गर्ने बैठकले निर्णय गरेको छ ।
१९ दिनदेखि अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भए पनि सरकारले चासो नदिएको आरोप लागिरहेको छ । चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा अनसनरत हुनुहुन्छ । यसबीचमा उहाँका प्रतिनिधिसँग सरकारले वार्ता गरे पनि सहमति हुन सकेको छैन ।
नेपाल चिकित्सक संघले बिहीबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने गरी आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्