तेस्रो खेलमा भारतलाई हराउँदै इंग्ल्यान्डले जित्यो सिरिज

काठमाडौं । भारत विरुद्धको ३ खेलको एकदिवसीय क्रिकेट सिरिज इंग्ल्यान्डले २–१ ले जितेको छ। मंगलबार भएको तेस्रो खेलमा घरेलु टिम इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो। यसअघि पहिलो खेलमा भारत विजयी  भएको थियो भने दोस्रो खेलमा इंग्ल्यान्डले जितेको थियो।

तेस्रो खेलमा भारतले दिएको २ सय ५७ रनको लक्ष्य इंग्ल्यान्डले ४४.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो। इंग्ल्यान्डका लागि जोए रुटले नटआउट १०० र इयान मोर्गानले नटआउट ८८ रन जोडे। रुटले १२० बलमा १० चौका र मोर्गानले १०८ बलमा ९ चौका हिर्काए। त्यसअघि जेम्स भिन्स २७ र जोनी बइस्ट्र ३० रनमा आउट भए।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ५६ रन जोड्यो। भारतका लागि कप्तान विराट कोहलीले ७१ रन जोडे। अदिल रसिदबाट बोल्ड हुनुअघि उनले ७२ बलमा ८ चौका प्रहार गरे। शिखर धवनले ४४ र महेन्द्रसिंह धोनीले ४२ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा इंग्ल्यान्डका अदिल रसिद र डेभिड विलीले ३–३ विकेट लिए।

जोए रुट म्यान अफ दि सिरिज र रसिल म्यान अफ दि म्याच भए।

प्रतिक्रिया दिनुहोस्