मेयर तथा नेपाल कम्युनिष्ट पार्टीका नेता तारा सुब्बाको निधन

काठमाडौँ । धरान उप–महानगरपालिकाका मेयर तथा नेपाल कम्युनिष्ट पार्टीका नेता तारा सुब्बाको निधन भएको छ ।

मृगौलाको रोगबाट पीडित सुब्बाको उपचारको क्रममा मंगलबार दिउँसो काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो ।

५२ वर्षीय सुब्बा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । स्थानीय चुनावमा उनले कांग्रेसका उम्मेदवार तिलक राईलाई ४ हजार भन्दा बढी मतले हराएका थिए ।

२०४० सालमै अनेरास्ववियू नगर कमिटी सदस्य बनेका सुब्बा २०४७ सालपछि भने युवा संघको राजनीतिमा प्रवेश गरेका थिए । त्यसबेला युवा संघलाई प्रजातान्त्रिक राष्ट्रिय युवा संघका नामले चिनिन्थ्यो । सुब्बा संघको नगर कमिटीपछि जिल्ला कमिटी संयोजक हुदै २ पटक जिल्ला अध्यक्ष, २ पटक केन्द्रीय सदस्य पनि बनेका थिए । सुब्बाका श्रीमती र एक छोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्