सुनसरी र ताप्लेजुङमा सवारी दुर्घटना, ११ जना घाइते, २ को अवस्था गम्भीर
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिकामा आज बिहान माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते भएका छन। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।
पूर्वतर्फ जाँदै गरेको बा४ख ६९३ नम्बरको माइक्रोबस कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा झापा धाइजन नगरपालिका–४ का ३५ वर्षीया रुपा पाण्डे, तिलारुपा पाण्डे, दमक नगरपालिका ५–का चन्द्रप्रसार मैनाली, दमक–५ का कुमार प्रसाईं, भद्रपुर नगरपालिका–१ का पहिचान नखुलेका एक पुरुष घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यसैगरी सुनसरीको इटहरी–१३ का रेवत भट्टराई, इटहरी–४ का शिशिर लिम्बु र मोरङको बेलबारी नगरपालिका–२ का पुजन राई घाइते भएको प्रहरीको भनाइ छ।
घाइतेमध्ये रुपा र तिलारुपाको अवस्था गम्भीर रहेको र घाइतेहरुलाई तत्काल उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको डिएसपी नारायण चिमरीयाले जानकारी दिए।
माइक्रोबसका चालक इलाम नगरपालिका–२, बाह्रकोटीका सरोज ढकाललाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
यसैगरी, ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित नाम्लेपाटीमा मे१ज २२४८ नम्बरको पिकअप भ्यान सोमबार साँझ दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।
सदरमुकाम फुङलिङ बजारबाट थेचम्बु जाँदै गरेको पिकअप अनियन्त्रित भई दुर्घटना भएको हो। याङवरक गाउँपालिका–१ का २२ वर्षीया शन्ता लिम्बु, वडा नम्बर २ का २४ वर्षीय जितबहादुर बस्नेत र १७ वर्षीय अभिनास लिम्बु घाइते भएका छन्।
घाइतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ। पिकअपका चालक फुङलिङ–७ का विष्णु कुमार भेटवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्