म्याग्दीको दग्नाममा पहिरो, २५ मिटर सडक भासिएपछि यातायात अवरुद्ध
काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ।
गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम जोड्ने सडकको दवाङ भीर र तोय क्षेत्रमा केही दिनदेखिको वर्षापछि सोमबार दिउँसो जमिन धाँजा फाटेर पहिरो जाँदा करिब २५ मिटर सडक भासिएको हो।
सडक तलको भिरालो जमिन धाँजा फाटेर पहिरो गएपछि सडकमा सवारीसाधन चल्न नसक्ने भएको दग्नामका वडाध्यक्ष एकबहादुर गर्बुजाले बताए। पहिरो जाने क्रम नरोकिएकाले सडक भासिनेक्रम जारी छ। मानिससमेत आवतजावत गर्न जोखिम बढेकाले बाटो बन्द गरिएको वडाध्यक्ष गर्बुजाले बताए।
वैकल्पिक घोरेटो बाटो निर्माणका लागि वडाका जनप्रतिनिधिले श्रमदानको आह्वान गरेका छन्। सडक भासिँदा दग्नाम, दर्मीजा, चिमखोला, कुइनेमंगलेका बासिन्दालाई आवतजावतमा समस्या भएको छ। सो स्थानमा तीन-चार वर्षअघिदेखि पहिरो जाने समस्या थियो।
सडक खनेपछि पहिरो जाने र जमिन भासिने क्रम बढेको स्थानीयवासीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्