अाज साउने संक्रान्ति पर्व मनाईदै, अाजैदेखि महिलाहरूकाे १ महिने व्रत शुरू

काठमाडौं । साउने संक्रान्ति पर्व देशभर आज मनाईदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।

कृषि प्रधान देशमा मानो खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी मिठा व्यञ्जन खाने चलन छ ।

हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन आजको दिन लुतो समेत फाल्ने परम्परा छ । ग्रामिण क्षेत्रमा अझैं पनि लुतो फाल्ने गरेको पाइएपनि शहरी क्षेत्रमा भने यो प्रचलन बिस्तारै हराउन थालेको छ ।

कुरिलो, पानीसरो लगायतका औषधीय वनस्पतिहरु बालेर ताप्ने  र बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फयाँक्ने चलन छ ।   लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।

यसैबीच विभिन्न शिवालयमा आजबाट धार्मिक अनुष्ठान शुरु भएको छ । साउन महिनाभर शिवको पुजा आराधना गर्ने परम्परा छ । भक्तालुले विशेषगरी साउने सोमवार ब्रत बस्ने र शिव मन्दिरमा पुजाआजा गर्ने गर्दछन् ।

पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, काभ्रेको धनेश्वर, लगायत विभिन्न शिवालयमा आजबाट मेला शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्