विमान दुर्घटना क्षतिपूर्ति : पीडितका परिवारलाई डेढ करोडभन्दा बढी

काठमाडौं । सरकारले विमान दुर्घटना क्षतिपूर्ति रकम बढाउने गरी मन्ट्रियल सन्धि सम्मेलन गर्ने बाटो खुला गर्ने भएको छ। योसँगै पीडितका परिवारले पाउने क्षतिपूर्ति रकम हालको २० हजार अमेरिकी डलरबाट वृद्धि भई करिब एक लाख ६० हजार डलर पुग्नेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पेस गरेको मन्ट्रियल सन्धि मन्त्रिपरिषद्को आर्थिक पूर्वाधार समितिले स्वीकृत गरेसँगै क्षतिपूर्ति बापत पाउने रकम बढ्ने निश्चित जस्तै भएको हो।

बढेको रकम अन्तर्राष्ट्रिय उडानमा मात्र लागू हुनेछ। समितिले स्वीकृत गरेको क्षतिपूर्ति बढने सन्धिको विषय अब मन्त्रिपरिषदले स्वीकृत गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए।

‘क्षतिपूर्ति रकम नबढाउनुपर्नेमा कुनै कारण छैनन्’, मन्त्री वास्कोटाले भने, ‘एक चरणको मन्त्रिपरिषद्को छलफलबाट यो विषय टुंगो लाग्छ।’

मन्त्रिपरिषद्ले स्वीकृति गरेको सन्धि संसद्मा अनुमोदन भएपछि सम्मेलनको बाटो खुला हुनेछ।

प्रतिक्रिया दिनुहोस्