विश्व कप २०१८ को विजेता फ्रान्स, फ्रान्सले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गरे

काठमाडौं (एजेन्सी) । विश्व कप २०१८ को ट्रफी फ्रान्सले उचालेको छ । क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको हो । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि विश्वअ कपको विजेता बनेको हो ।

खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि क्रोएसियाले २८ औं मिनेटमै गोल फर्काएर खेल बराबरीमा ल्याएको थियो । उसका लागि इभान पेरिसिकले बराबरी गोल गरे ।

क्रोएसियाले खेल बराबरीमा ल्याएको १० मिनेटमै फेरि फ्रान्सले पेनाल्टी पायो र अग्रता लिने मौका पायो । कर्नर बलमा क्रोएसियाली डिफेन्डरले ह्याण्ड गर्न पुग्दा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टोनि ग्रिजम्यानले गोलमा परिणत गरे । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री ९भीएआर० को सहायताले पेनाल्टीको निर्णय गरेका थिए ।

दोस्रो हाफमा बलमाथि क्रोएसियाले बढी नियन्त्रण गरे पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेलमा फराकिलो जित दर्ता गर्न सफल भयो । फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे ।

क्रोएसियाका लागि सान्त्वना गोल मारियो मान्जुकिजले ६९ औं मिनेटमा गरे । पहिलो पटक फाइनल पुगेको क्रोएसियाले बलमाथि धेरै नियन्त्रण राखे पनि गोल गर्न नसक्दा हार व्यहोर्न परेको छ ।

प्रतिक्रिया दिनुहोस्