निर्वाचन घोषणा गर्ने अधिकार आयोगलाई दिइनु पर्छ, ६० दिनमै निर्वाचन गर्न आयोग सक्षम छ: प्रमुख आयुक्त यादव
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले हरेक तहको निर्वाचनका लागि मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोेगलाई दिइनु पर्ने बताउँदै १२० दिनमा होइन, ६० दिनमै निर्वाचन गर्ने क्षमता आयोगसँग भएको दावी गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय तनहुँको नवनिर्मित भवनको शुक्रबार दमौलीमा उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा.यादवले निर्वाचनको मिति कानूनमा उल्लेख गरी सो अधिकार आयोगलाई दिइनु पर्ने तर्क गर्दै त्यो अधिकार मन्त्रिपरिषद्ले आफैंसंग राखेकोले निर्वाचन आयोगले खुलेर काम गर्न नपाएको प्रष्ट्याए ।
उनले त्यस्तो अधिकार सरकारले नै राख्दा आयोगले समयमै निर्वाचन गर्न कठिन र कानूनले बाँधेको बताए । उनले भने, योे अधिकार आयोगले पाएमा आगामी दिनमा १२० दिन होइन, ६० दिनमै निर्वाचन गर्ने क्षमता आयोगसँग छ ।’
उनले आयोगले संगठनात्मक संरचना तयार पार्ने, जनशक्ति व्यवस्थापन गर्ने, निर्वाचनको समीक्षा गर्ने, ७७ वटै जिल्लामा मतदाता नामावली संकलन गर्ने काम भइरहेको जानकारी समेत यादवले दिए ।
त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदी, जिल्ला निर्वाचन कार्यालय तनहुँका निमिक्त प्रमुख हरिप्रसाद लामिछानेलगायतको उपस्थिति थियो ।
आठ आना क्षेत्रफलमा निर्माण भएको तीनतले १२ कोठे भूकम्प प्रतिरोधात्मक सो भवन रु.एक करोड ४८ लाखको लागतमा निर्माण गरिएको आयोगले जानकारी दियो ।
प्रतिक्रिया दिनुहोस्