“२०५औँ भानुजयन्ती” नेपाली भाषालाई एकतावद्ध गर्न भानुभक्तको योगदान महत्वपूर्णः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले नेपाली साहित्यलाई सरल भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि ठूलो योगदान गर्नुभएको बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा २०५औँ भानुजयन्तीका सन्दर्भमा शुक्रबार आयोजित प्रभातफेरीको समापन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशभित्र विभिन्न भाषा तथा समुदायबीच रहेका बहुलतालाई सवल बनाउने भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘सांस्कृतिक अस्मिताका प्रतीक तुलसीदास र भानुभक्त’ को विमोचन तथा भानु जयन्तीमा उत्कृष्ट प्रतिभालाई पुरस्कृत गरे ।

कोलकत्तास्थित आनन्द प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तक डा सत्यप्रकाश तिवारीले हिन्दीमा सम्पादन तथा राजेन्द्रप्रसाद उपाध्याय ढकालले नेपालीमा अनुवाद गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भानु जयन्तीका अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमको सराहना गरे ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मुलुकको भौगोलिक एकीकरण गरेका पृथ्वीनारायण शाह र भाषाका माध्यमबाट भावनात्मकरुपमा देशलाई एकता गर्ने भानुभक्तलाई सबै नेपालीले सम्मान गर्नुपर्ने विचार व्यक्त गरे ।

भानु प्रतिष्ठानका अध्यक्ष व्रत्तराज आचार्यले भानुभक्तको जन्मथलोलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्