सरकार संग जुनसुकै बेला वार्ताका लागि तयार रहेको डा. केसीको भनाइ

काठमाडौं । चिकित्सा क्षेत्र सुधार सम्बन्धी माग राखेर जुम्लामा आमरण अनशनरत डाक्टर गोविन्द केसीले आफू वार्ताका लागि तयार रहेको बताएका छन् ।

वार्ताका लागि गोविन्द केसी तयार नभएको भनेर सरकारी भनाइ प्रकाशमा आइरहेका बेला डाक्टर केसीले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका हुन् । डाक्टर केसीद्वारा बुधबार बिहान जारी प्रेस विज्ञप्तिमा भनिएको छ ‘यतिका दिनसम्म संवेदनहीन र गैरजिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

डाक्टर केसीले आफू वार्ताका लागि सधैं तयार रहेको भन्दै सरकारलाई यसको गृहकार्यमा जुट्न आग्रह समेत गरेका छन् । आफुहरु कुनै पनि बेला वार्ताका लागि तयार रहेको भन्दै केसीले सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने समेत प्रष्ट पारेका छन् ।

दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी सोच्न पनि उनले सरकारलाई सुझाएका छन् । चिकित्सा शिक्षा ऐन तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत माग राखेर जुम्लामा डा. केसी अनशन बसेको बुधवार १२ दिन पुगेको छ ।

उनको स्वास्थ्य अवस्था बिग्रिँदै गईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्