डा. केसीको जीवन रक्षामा चिकित्सक एक मत, आन्दोलन र मागका विषयमा कुरा बाझियो

dr gkc

काठमाडौं । नेपाल चिकित्सक संघले आमरण अनसनरत वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीको जीवन रक्षामा एक मत भएको छन् भने देशभरका स्वास्थ्य सेवा बन्द गर्ने कुरामा चिकित्सकहरुको मत बाझिएको छ ।

संघले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ–आफ्नो स्वास्थ्य संस्थामा अर्को निर्णय नहँुदासम्म प्रत्येक दिन बिहान १० देखि ११ बजे सम्म १ घण्टा कालोपट्टी बाँधी धर्ना, ¥याली सञ्चालन गर्ने समेत निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन विगत ३ दिन यता हातमा कालो पट्टी बाँधेर विरोध प्रर्दशन गर्दै नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय र संघका देशभरका शाखा कार्यालयहरुले सम्बन्धित जिल्लामा रहेका शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जालसंग समन्वय गरी सहयोग पु¥याउन अपिल समेत गर्ने निर्णय गरेको महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा भनिएको छ ।

नेपाल चिकित्सक संघले विरोधका कार्यक्रमहरु संञ्चालन गर्दा सरकारले निकासका लागि यथासिघ्र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नु पर्ने जनाएको छ ।  चिकित्सककै कुरो बाझियो, क–कसले के–के भने बैठकमा ?
बैठकमा एनएमएका पूर्व पदाधिकारीहरु, राष्ट्रिय चिकित्सक संघका पदाधिकारी, मधेशी चिकित्सक संघका पदाधिकारीहरु, रेजिडेन्ट डाक्टर्स एशोसिएशनका प्रतिनिधिहरु, मेडिकल काउन्सिलका पदाधिकारी तथा प्रतिनिधि, विभिन्न अस्पतालका निर्देशकहरुको सहभागिता रहेको बैठकमा सहभागी सबैले डाक्टर केसीको जटिल स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरे ।

बैठकमा नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले डा.केसीको अनशन लम्बिदै जाँदा स्वास्थ्यमा समेत जटिल समस्या आउँदा पनि सरकारको कुनै पहल नगरेको र सरकार निरंकुश बन्दै गएको बताए । उनले बार्ताको पहल नभएको र आफूहरुले दिएको अल्टिमेटम समेत सकिन लागेकाले सरकार विरुद्ध अन्य संघर्षको कार्यक्रम ल्याउन वाध्य हुने बताए ।

त्यस्तै बैठकमा बोल्दै नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले डा. केसीको जीवन रक्षा सबै चिकित्सकको पहिलो दायित्व भएको भन्दै यसप्रति गम्भीर हुन सबै पक्षलाई आग्रह गरे । उनले डा. केसीको स्वास्थ्यमा जुनसुकै अवस्थामा जटिलता उत्पन्न हुने भन्दै एनएमएको पहलमा काठमाडौँ ल्याउन सुझाव दिए ।
डा. केसीका मागका सन्दर्भमा भने थप छलफलको आवश्यकता रहेको भन्दै विरोधका लागि सेवा बन्द गर्ने घोषणा नगर्न एनएमएलाई सुझाव दिएका छन् ।

एनएमएका पूर्व अध्यक्ष डा.अञ्जनीकुमार झाले डा.केसीका मुद्धालाई राजनीतिककरण गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरे । उनले बद्लिँदो परिस्थितिमा चिकित्सक संघ समेत सचेत ढंगले अघि बढ्नुपर्ने भन्दै क्रान्तिकारी कदम उठाउनु अघि गम्भीर ढंगले बहस गर्नु जरुरी रहेको सुझाए । उनले डा.केसीको स्वास्थ्यप्रति भने सबैजना गम्भीर हुनुपर्ने र उचीत उपचारको व्यवस्था गर्नुपर्ने बताए ।

बैठकमा मधेशी चिकित्सक संघका प्रवक्ता डा.विनय पन्जियारले डा. केसीले उठाएका अधिकांश मागहरु पूरा भईसकेको अवस्था र बाँकी मागहरुलाई पनि वार्ता र संवादको माध्यमबाट सम्बोधन गर्न सकिने बताए । उनले डा. केसीको विग्रदै गएको स्वाथ्य प्रति चिन्ता व्यक्त गर्दै उनको जीवन बचाउनका लागि तत्काल काठमाडौं ल्याउनुपर्ने सुझाव दिए । मुलुकमा संघीयता र जनप्रतिनिधि आईसकेको अवस्थामा पुरानो शैलीबाट ल्याईएको माथेमा आयोगको प्रतिवेदनलाई हुवहु लागू गर्दा जनता र सम्पूर्ण चिकित्साक्षेत्रलाई नै अहित हुने कुरा बताए । उनले भने, ‘देशको ग्रामिण भेगमा खुल्न लागेको मेडिकल कलेजबाट जनताले पाउने स्वस्थ्य सेवालाई मध्यनजर गर्दै आवश्यकतानुसार अनुमती दिनुपर्ने तर्क गरे । उनले डा. केसीको जीवनरक्षाका लागि सबैले पहल गर्नुपर्ने बताए ।’
त्यस्तै डा.पन्जियारले डा.केसीका मागका सन्दर्भमा भने थप छलफलको आवश्यकता रहेको भन्दै विरोधका लागि सेवा बन्द गर्ने घोषणा नगर्न एनएमएलाई सुझाव दिएका छन् ।

राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा.सन्तोष पौडेलले डा.केसीको स्वास्थ्य पहिलो प्राथमिकता रहेको भन्दै त्यसतर्फ अग्रसर हुन एनएमएलाई सुझाव दिए । उनले डा. केसीको माग पुरा गराउन दवाव दिन भन्दै सेवा बन्द गर्ने कार्यक्रम नल्याउन सुझाव दिए । उनले नीति बनाउने जिम्मा सरकारको भन्दै माथेमा आयोगको सुझाव हुवहु लागू हुन नसक्ने तर्क दिए । आयोगले त सुझाव दिने हो । उसले दिएको सबै सुझाव लागू गर्नुपर्छ भन्ने छैन । यसतर्फ सबैले सोच्न जरुरी छ उनले भने ।

राष्ट्रिय चिकित्सक संघका महासचिव डा.रमेश ढकालले डा.केसीको जीवनरक्षाका लागि संघले नेतृत्व लिनुपर्ने बताए । तर डा केसीको जीवनरक्षाका लागि भन्दै सेवा बन्दका कार्यक्रम नगर्न सुझाव दिए । उनले भने, जनता र हामीबीचको खाडल अहिले पनि फराकिलो बन्दै गइरहेको छ । यस्तो अवस्थामा अहिले सेवा बन्द गर्दा झन नकारात्मक अवस्था सिर्जना हुने बताए ।

प्रसूतिगृह अस्पतालका निर्देशक डा.जागेश्वर गौतमले डा.केसीको अनशनलाई समर्थन गर्ने नाममा एनएमएले विगतमा समेत सेवा बन्द गर्ने कार्य गरेको भन्दै यसपटक सो कार्यक्रम आए समर्थन गर्न नसकिने जनाए । उनले विरामीको उपचार छाडेर आन्दोलन गर्ने ह्वीप आए आफूले बरु एनएमएको सदस्यता त्याग्ने चेतावनी दिए ।

कार्यक्रममा डा केसीको स्वास्थ्य अवस्था बुझ्न जुम्ला पुगेर फर्किएका एनएमएका बरिष्ठ उपाध्यक्ष डा ढुण्डी पौडेलले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा डा केसीको स्वास्थ्य अवस्था एकदमै जटिल बन्दै गएको र जुनसुकै अवस्थामा दुर्घटना हुनसक्ने भन्दै सचेत गराएका थिए । उनले जसरी भएपनि डा स्वास्थ्यलाई सुरक्षित गर्नु पहिलो जरुरी रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्