विश्वकप : सेमिफाइनल आजबाट , पहिलो खेल राति पौने १२ बजे
काठमाडौँ । रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप –२०१८ को सेमिफाइनलका खेल आज हुने भएका छन् । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित नै छ ।
विश्वकप फुटबलको अन्तिम ४ को पहिलो खेल आज राती पौने १२ बजे हुँदैछ । क्वार्टर फाइनलमा उरुग्वेसँग २–० को जित निकालेको फ्रान्स र ब्राजिलसँग २–१ को जित निकालेको बेल्जियमबीच हुनेछ ।
खेल १२० मिनेटसम्म हुने उनीहरूको अनुमान छ । तीन पटक मैत्रीपूर्ण खेल खेलेका फ्रान्स र बेल्जियम बीचको दुई खेल बराबरी र एकमा बेल्जियमले जित निकालेको थियो ।
सन २०११ र २०१३ मा भएका खेलमा दुबै टिमको गोलरहित बराबरी थियो, भने २०१५ को खेलमा बेल्जियमले ४–३ ले खेल जितेको थियो । त्यसयता यी दुई टिमले मैत्रीपूर्ण खेल खेलेका छैनन् ।
सेन्ट पिटरवर्ग स्टेडियममा हुने खेलमा उरुग्वेका एन्द्रे इस्माएल कुन्हा सोका मुख्य रेफ्री रहनेछन् । दुवै टिमका लागि यो खेल फाइनसम्म पुग्नका लागि महत्वपूर्ण छन् । आजको खेलमा फ्रान्सका किलिन एम्बाप्पे र बेल्जियमका मिड फिल्डर केभिन डी ब्रुयनाको खेललाई महत्वका साथ हेरिनेछ । एम्बाप्पेले अर्जेन्टिनाविरुद्धको प्रि क्वार्टर फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यता डी ब्रुयनाले ब्राजिलविरुद्धको निर्णायक गोल गरेका थिए ।
फ्रान्सका गोलकिपर ह्युगो लोरिसले बेल्जियम विश्वकपको सबैभन्दा राम्रो टिम रहेको र डिफेन्स लाइन तोड्न मुस्किल रहेको बताइसकेका छन् । उनले आकाशे र ग्राउन्ड बलमा बेल्जियम अनुभवी रहेका कारण फ्रान्सका लागि कडा रणनीतिको आवश्यकता रहेको बताइसकेका छन् ।
फ्रान्ससँग खेल्नुअघि बेल्जियमले प्रिक्वार्टरफाइनलमा जापानसँग २–० ले पछि परेको अवस्था उल्टाएर ३–२ को जित निकालेको थियो ।















प्रतिक्रिया दिनुहोस्