नाडा अटो सोमा तीन अर्बको व्यापार

काठमाडौं – नाडा अटो सोमा तीन अर्बको कारोबार भएको छ । पाँच दिनसम्म भएको नाडा अटो सोमा सवारी साधन बुकिङसहित त्यति रकमको कारोबार भएको हो । भदौ १३ गते सुरु भएको ‘नाडा अटो सो २०१७’ मा दुईपांग्रे र चारपांग्रे गरी दुई हजारभन्दा बढी सवारी साधन बुकिङ भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । नाडाका महासचिव कृष्णप्रसाद दुलालले सोको पाँचौं दिनसम्म करिब ७५ हजार दर्शकले अवलोकन गरेको आयोजकले बताए । मेलामा हुन्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन लगायत १६ ब्रान्डका चारपांग्रे सवारी साधन राखिएका थिए । यस्तै बजाज, यामाहा, हिरो, होन्डा, टिभिएस लगायत १९ ब्रान्डका दुईपांग्रे र टाटा, अशोक लेल्यान्ड, महिन्द्रा लगायत ६ ब्रान्डका हेभी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिएको थियो ।
सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेन्टसका पनि स्टल राखिएका थिए । मेलामा दुईपांग्रे, चारपांग्रे, कमर्सियल गाडीहरू तथा वित्तीय संस्थाका लागि फरक–फरक स्टल ब्लक निर्धारण गरिएको थियो । ९० वटा संस्थाका एक सय ३० वटा स्टल मेलामा थिए ।

प्रतिक्रिया दिनुहोस्