इन्टरनेटको शुल्क बढाउने पक्षमा छैन् : मन्त्री बास्कोटा
काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफू इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको बताएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले इन्टरनेट सेवा शुल्क बढाउने कि नबढाउने भन्ने विषयमा तत्काल निर्णय लिन पनि आफ्नो मन्त्रालय र सचिवलाई सचेत गराएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले निजी क्षेत्रले इन्टरनेट सेवा शुल्क बढाउन खोजेपछि सरकारले के गर्छ भन्ने प्रश्नको जवाफ मन्त्रीले नभई मन्त्रालयले दिनुपर्ने दावी समेत गरे । इन्टरनेट सेवा शुल्क बढाउने विषयमा ‘आफूलाई धेरै थाहा नहुने’ मन्त्री बास्कोटाको भनाई छ ।
मन्त्री बास्कोटाले सरकारको नीतिलाई आवश्यक निर्णय लिएर कार्यान्वयनमा लैजाने काम प्रशासन क्षेत्रको भएको पनि स्मरण गराए । मन्त्री बास्कोटाले प्रवक्ता र सूचना अधिकारीहरुको भूमिकालाई प्रभावकारी बनाउने गरी प्रविधि र स्रोत, साधनको उचित व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया दिनुहोस्