डा. केसी जुम्लामा अनसन बस्नुको कुनै तुक छैनः प्रवक्ता डा. पञ्जियार

काठमाडौं । मधेशी चिकित्सक संघले जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीले उठाएका अधिकाँश मागहरु पुरा भईसकेकाले अनसन बस्नुको कुनै तुक नभएको जनाएको छ ।

चिकित्सा क्षेत्रमा भएका विकृति र विसंगतिलाई अन्त गर्न भन्दै डाक्टर केसी १५ औं पटक जुम्लामा अनसन बसिरहेका बेला मधेशी चिकित्सक संघका प्रवक्ता डा. विनय पञ्जियारले जागरणन्युज डटकमसंग सोमबार कुरा गर्दै डा. केसीले उठाएका अधिकाँश माग पूरा भईसकेकाले अब पनि अनसन बसिरहनु नपर्ने बताए ।

पहिले चिकित्सा क्षेत्रमा विकृति विसंगती धेरै थियो । तर आजको अवस्थामा आइपुग्दा सम्म यसमा धेरै सुधार आएको बताउँदै उनले भने, ‘ प्रवेश परिक्षामा मेरिट सिष्टम पनि लागू भईसकेको छ । प्रत्येक क्षेत्रमा शिक्षण अस्पताल स्थापना गर्ने कुरा पनि पुरा भएको छ । नेपाल मेडिकल काउन्सिलले पनि चिकित्सा प्रणालीमा धेरै सुधार र व्यवस्थित गर्दै आएको छ । अब कुनै पनि माग सरकारले सम्बोधन गर्न बाँकी छैन ।’

उनले नेपालमा प्रवेश परीक्षमा अनुत्तीर्ण भएका अधिकांश विद्यार्थी विदेशका गुणस्तरहीन कलेजमा पढ्न जान वाध्य भएको, नेपालबाट धेरै धनराशी विदेशिएको तर्क गर्दै यस प्रति डा. केसि सहित सरोकारवाला निकाय जिम्मेवार हनुपर्ने होइन ? उनले प्रश्न गरे ।

नेपालमा मेडिकल कलेज र अस्पताल खोल्न अनुमती दिने/नदिने सम्पूर्ण अधिकार सरकारको भएको बताए । गुणस्तरीय चिकित्सा शिक्षा उपलब्ध गराउन सक्ने संस्थालाई सम्बन्धन दिनुपर्ने सुझाव दिए । उनले भने, ‘नेपालमा पहिलो निजी मेडिकल कलेज मणिपाल मेडिकल कलेजलाई सम्बन्धन दिँदा उससँग आफ्नो अस्पताल नै थिएन, मापदण्ड पूरा नगरी सम्बन्ध दिइयो, आवश्यक मापदण्ड पूरा नगर्दा विकृति तथा विसंगति भित्रिएको थियो । यो सत्य हो । तर, माथेमा आयोगले सबै मेडिकल कलेजलाई एउटै बास्केटमा हालेर हेर्नु गलत होे, बेइमानलाई ठेगान लगाउनु पर्ने थियो । तर, सबैलाई एउटै बास्केटमा हाल्ने काम भयो ।’

गुणस्तर र पूर्वाधार पूरा गरेका मेडिकल कलेजलाई सम्बन्धन दिंदा देश र विद्यार्थी दुबै पक्षलाई फाइदा हुने बताउँदै उनले काठमाडौँ उपत्यका भित्र वा बाहिर मेडिकल कलेज आवश्यक परेमा खोल्न अनुमती दिनुपर्ने उनको तर्क छ ।

प्रवक्ता डा. पञ्जियारले अहिलेको परिवर्तित अवस्थामा अनशनरत प्रा. डाक्टर गोविन्द केसीले आफ्नो हठ छाड्नुपर्ने सुझाव दिए । चिकित्सा आयोग बन्दैमा शिक्षा र स्वास्थ्यमा चमत्कारिक परिवर्तन तथा सुधार हुन्छ भन्नु समय सान्दर्भिक हुँदैन उनले भने, ‘ यो कुनै जादुको छडी होइन । रातारात सुधार हुन्छ भन्ने कुरा भ्रम मात्र हो । यो समयानुकल परिवर्तन गर्दै जाने कुरो हो । ’

साथै निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा अरबौं लगानी गरिसकेकाले त्यसको पक्षमा पनि ख्याल गर्नुपर्नेमा उनले जोडदिए ।
डा. केसीको मागका सम्बन्धमा जनमत दुई धारमा विभाजित भएको अवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्