मुस्ताङ टिपर दुर्घटनामा मृत्यु भएका परिवारलाई ५ लाख दिने सरकारको घोषणा

काठमाडौं । मुस्ताङको स्याङ्बोचेमा भएको टिप्पर दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले प्रतिपरिवार ५ लाख रुपैयाँ दिने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई राहत स्वरुप ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका हुन् । प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर गृहमन्त्री थापाले मुस्ताङ घटनाबारे जानकारी गराउँदै मृतकको परिवारलाई आर्थिक राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

गत शुक्रबार दिउँसो करिब साढे १ बजेतिर मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी सोही सडक खण्ड निर्माण कार्यमा संलग्न २० जना मजदुरको मृत्यु भएको थियो ।

मन्त्री थापाले मृतक २० जनाको शव सम्बन्धित जिल्लामा पठाइएको र घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिए । बा २ ख २२१९ नम्बर टिप्पर दुर्घटनामा कालीगण्डकी कोरिडोर निर्माणमा काम गरिरहेका मजदूरको मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा दाङका ३० वर्षीय बालकुमार घर्ती, रोल्पाका २८ वर्षीय सुकमान रोक्का, धादिङका २३ वर्षीय सुजन घलान –चालक), सिन्धुलीका २० वर्षीय जीवन माझी, कैलालीका २२ वर्षीय बिन्ति घर्ती, रोल्पाका १९ वर्षीय महेश रोक्का, दाङका ३१ वर्षीय कविता घर्तीमगर, रोल्पाका ३२ वर्षीय रामकुमार पुन, दाङका ३५ वर्षीय सुबेर चौधरी, कैलालीका २३ वर्षीय विनिता घर्तीमगर, दाङका ४३ वर्षीय शान्ति थापा, रोल्पाका ३२ वर्षीय शन्तु घर्ती, स्याङ्जाको २४ वर्षीय कृष्ण क्षेत्र, दाङका २५ वर्षीय कमल बुढा, रोल्पाका ३१ वर्षीय जीतमाया घर्ती, रोल्पाका २० वर्षीय सिर्जना मगर, रोल्पाका २३ वर्षीय रास्ट्रे रोक्का र ३५ वर्षीय कमानसिंह रोक्का छन् ।

प्रतिक्रिया दिनुहोस्