बजेट कार्यान्वयको सवालमा सरकार गम्भीर छ : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले संघको बजेटलाई मात्रै हेरर समग्र बजेटको आकार र प्रकृतिको धारणा बनाई व्याख्या गर्न नहुने बताएका छन् । उनले बजेट कार्यान्वयको सवालमा सरकार गम्भीर रहेको पनि बताए ।

मन्त्री खतिवडाले भूगोल जनसंख्यालाई आधार बनाएर गरिएको बजेट विनियोजनले संघीयतालाई आत्मसाथ गरेको पनि दाबी गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले भूगोल र जनसंख्यालाई आधार बनाउँदै अन्य परिसूचकलाई पनि मध्यनजर गरी सन्तुलित ढंगले बजेट आएको बताए ।

अर्थमन्त्री खतिवडाले चौमासिक बजेटका कारण शिक्षकले तलब पाएनन् भन्नेमा सत्यता नभएको भन्दै उनले चौमासिक बजेट पठाउन ढिलाई नभएको दावी गरे । उनले ब्याजदरका सम्बन्धमा भने केन्द्रीय बैकले केही समयपछि सार्वजनिक गर्ने मौद्रिक नीतिले सम्बोधन गर्ने जानकारी दिए ।

यस्तै उनले भूगोल र जनसंख्याको सन्तुलनलाई बुझिदिन आग्रह गर्दै बजेटले संघीयतालाई आत्मसाथ गरेको दावी पनि गरे । समित साधनलाई असीमित प्राथमिकतामा बाँड्नु पर्दा केही आयोजना परियोजनालाई आवश्यक बजेट विनियोजन गर्न नसकेको भए पनि प्रदेश र स्थानीय तहमा पनि विनियोजन भएको बजेटलाई हेरेर समग्र मुल्यांकन गर्नुपर्ने तर्क उनले गरे ।

उनले भारतीय ५ सय र १ हजारका नोट सटहीका लागि भारत सरकारसँग छलफल भैरहेको जानकारी दिए । विशेष गरेर ५ सय र १ हजार दरका भारतीय रुपैयाँ सटहीको व्यवस्था नहुँदा सीमा क्षेत्रमा भएको असुविधा प्रति भारत सरकारसँग नया ढंगले छलफल अघि बढाइएको उनले स्पष्ट पारेका थिए ।

राष्ट्रियसभा सदस्यहरुले बजेटमा प्रादेशिक सन्तुलनको कुरा उठाउदै संघीयतालाई आत्मसाथ गर्न नसकेको र कार्यान्वयनमा जटिलता रहेको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्