उपकुलपति कोइरालाले भने : मलाई छापामार शैलीमा ओलीको निर्देशनमा समातियो

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय दाङका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाले आफूलाई छापामार शैलीमा पूर्व निर्धारित कार्यक्रममा भाग लिन जानबाट बञ्चित गरेको गुनासो गरेका छन् ।

उनले क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको अवस्थामा कुनै कारण देखाइ प्रहरी लगाएर पक्राउ गरिएको उपकुलपति कोइरालाले बताए ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा उपकुलपति कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधीलाईजस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिईएको आरोप लगाए । उनले उक्त घट्नालाई आफूले सामान्य रुपमा नलिएको बताउँदै यो अन्तर्राष्ट्रिय मञ्चमा समेत यो विषयले नेपालको बेईज्जती भएको दुःखेसो पोखे ।

यो घट्नाले उक्त सम्मेलनमा भाग लिन आउने १११ राष्ट्रहरुमा समेत नेपाल सरकारको नकरात्मक सन्देश प्रवाह भएको उनको भनाई छ । उनले भने, ‘म क्यानडामा पिकनिकको लागि जान खोजेको थिइनँ हाम्रो सभ्यता, संस्कृत र संस्कृतिको प्रवद्र्धन तथा विकासको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा भाग लिनको लागि जान लागेको थिएँ ।’

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार हुँदापनि आफू क्यानडामा हुन लागेकैजस्तो कार्यक्रममा भाग लिन चीन गएको स्मरण गराउँदै कोइरालाले ‘चीन जाँदा जुन प्रक्रिया अपनाएको थिएँ, त्यही प्रक्रिया र नियम अहिलेपनि पालना गरेको बताए ।

उपकुलपति कोइरालाले यस बारेमा एक साताअघि नै सरकारको सम्बन्धित निकायलाई जानकारी गराएको थिएँ भन्दै त्यस विषयमा कुनै जानकारी नगराईकन मलाई विमानस्थलबाट एकैचोटी छापामार शैलीमा अपराधीलाई जस्तो पक्राउ गरिएको उनको भनाई छ ।उनले यो खेदजनक भएको भन्दै यो अपमान म प्रतिमात्रै नभएर सिँगो प्राज्ञिक जगतमाथिको अपमान भएको बताए ।

क्यानडाको भ्यानकुभर शहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा शनिबार सरकारले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्