बजेट र जनशक्ति थप गरिदिन राष्ट्रिय महिला आयोगको सरकारसँग माग

काठमाडौं । राष्ट्रिय महिला आयोगले बजेट र जनशक्ति थप गरिदिन सरकारसँग माग गरेको छ । आयोगका सचिव अनिलकुमार ठाकुरले आयोगको कामलाई प्रभावकारी बनाउन पर्याप्त बजेट र आवश्यक जनशक्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संवैधानिक व्यवस्थाअनुसार आयोगले रणनीतिक योजना तयार पार्न लागेको पनि जानकारी दिए । आयोगले संघीय ढाँचाअनुसार आयोगको संरचना तय गर्न ढिलाई नगर्ने पनि स्पष्ट पारेको छ ।

आयोगले आफ्नो कामलाई प्रभावकारी बनाउन सूचना तथा अनुसन्धान केन्द्रको स्थापना गर्ने योजना पनि बनाएको छ । सचिव ठाकुरले स्थानीय तहमा पनि आयोगको कामलाई प्रभावकारी बनाउन आवश्यक समिति निर्माण गर्ने योजना अघि सारेको बताए ।

राष्ट्रिय महिला आयोगले महिलाहिंसाविरुद्धको अभियानलाई सशक्त बनाउन सबै स्थानीय तहमा आवश्यक सहकार्य गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्