स्वतन्त्रता विरोधी सरकारी निर्णयहरु विरुद्ध शान्ति समाजले आन्दोलन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले यहि असार २६ गते देखी आन्दोलन गर्ने भएको छ ।

आन्दोलनका क्रममा असार २६ गते प्रधानमन्त्री कार्यालय सिंहदरवार दक्षिण गेट अगाडि सरकारको स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधि विरुद्ध दिउँसो १ बजे धर्ना बस्ने शान्ति समाजले जानकारी दिएको छ ।

यस्तै असार ३० गते शनिवार दिउसो १ बजे प्रधानमन्त्री निवास वालुवाटार ३ नम्बर गेट अगाडि दोस्रो विरोध प्रदर्शन गरिने, असार ३२ गते सोमबार दिउँसो १ बजे नयाँ वानेश्वर संसद भवन अगाडि तेस्रो प्रदर्शन गरिन, यसैगरी साउन १ गतेदेखि काठमाण्डौँ उपत्यकाका विभिन्न स्थानहरुमा निरन्तर नागरिक सभा आयोजना गरिने लगाएका आन्दोलनका कार्यक्रमहरु सावैजनिक गरिएको शान्ति समाज द्वारा जारी गएिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आन्दोलनका कार्यक्रमहरुलाई समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुले संवोधन गर्ने कार्यक्रमहरु रहेको सामाजका महासचिव उत्तम पुडासैनी द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभुत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरि कतिपय निर्णय गरेको समाजले ठहर गरेको छ । साथै न्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको र पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बन्दै गएको शान्ति समाजको आरोप छ ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवा तथा अधिकारकर्मीहरुको सहभागिता रहने बताईएको छ । साउन महिनामा गरिने प्रदर्शन सहित दर्जनौ कार्यक्रमहरुको प्रारुप चाडै सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्